अलपत्र पारेका आयोजनाको अनुसन्धान अख्तियारद्वारा शुरु |
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्का लिएर लामो समय अलपत्र पुल, सडक, सिँचाइ आयोजना, भवनको विस्तृत अनुसन्धान थालेको हो । ठेक्का अवधि सकिएका, बारम्बार म्याद थप्ने, ठेकेदार सम्पर्कविहीन रहेका अलपत्र आयोजना अख्तियारले अनुसन्धान दायरामा पारेको छ । यस्ता १४ आयोजनाको अनुसन्धान थालेको बताइएको छ ।
हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तरदक्षिण राजमार्गका पुल र सडकखण्डको विस्तृत अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।
उसले १४ पुल, सडकको अनुसन्धान गरिरहेको छ भने स्वास्थ्यका भवन, भवन विभागअन्तर्गत निर्माणाधीन भवन, सडक विभागले बनाएका पुल तथा सडक, सिँचाइ आयोजना, नदी नियन्त्रण आयोजनाको विस्तृत अध्ययन गर्ने तयारी गरेको छ ।