आगलागी हुँदा झापाका एकै परिवारका चार जनाको मृत्यु |
झापा । झापाको शिवसताक्षी नगरपालिका–७, लालझोडामा गएराति आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । आगलागीमा परी ज्यान गुमाउनेहरूमा ३५ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका खनाल, चार वर्षीया छोरी चन्द्रा खनाल र चार महिनाको छोरो टीकाराम खनालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता एवम् डीएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार उनीहरू घरभित्र सुतिरहेको बेला गएराति पौने ११ बजेतिर आगो लागेको थियो । आगलागीको जानकारी पाएलगत्तै दमकलसहित प्रहरीको टोली पुगेर आगो नियन्त्रणमा लिए पनि उनीहरूलाई बचाउन भने सकेन ।
आगलागीबाट जस्ताले छाएको दुई तले घर पनि क्षतिग्रस्त भएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको र अन्य क्षतिको यकिन विवरण संकलनको काम पनि भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।
परिवारको सम्पूर्ण सदस्य सुतिरहेको अवस्थामा आगलागी भएको वडा नम्बर ७ का अध्यक्ष नवीन इजमले जानकारी दिए । आगलागीमा छिमेकी ३७ वर्षीया गीता ढुंगेल घाइते भएकी छिन् । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ ।