प्राधिकरण लाई अझ उत्कृष्ट बनाउने गरी काम गर्छौ, नाफाको ग्राफ अझै बढ्ने छः कार्यकारी निर्देशक घिसिङ |
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताए । बुधवार काठमाडौंमा भएको प्राधिकरणको ३७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन् ।
उनले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाए । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले विद्युत निर्यातको विषयमा चिन्ता लिन आवश्यक रहेको बताए । उनले प्राधिकरणको आर्थिक सुधार गर्न सरकार समेत लागेको बताए । उनले वर्तमान सरकार आएसँगै प्राधिकरण विद्युत निर्यात गर्न सफल भएको बताए ।
उनले विद्युत प्राधिकरणका कर्मचारीको तलव खानसमेत ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले प्राधिकरणका कर्मचारीले बोनस लिने निर्णय नहुँदै अख्तियारदेखि १० ठाउँबाट पत्र आउने स्मरण गरे । कार्यकारी निर्देशक घिसिङले अहिले प्राधिकरण नाफामा रहेकाले तलव खान ऋण लिनुपर्ने अवस्था अन्त्य भएको बताए ।
उनले प्राधिकरणले कर्मचारीको वृद्धि विकास र सेवा सुविधामा चार वर्षमा ठूलो फड्को मारेको बताए । घिसिङले पछिल्लो पाँच वर्षभित्र करिव तीन गुणा विद्युत खपत बढाएको बताए । उनले प्राधिकरणले धेरै पूर्वाधार विकास र सवस्टेसन र ट्रान्समिसन लाइनहरु बनाएकाले पनि खपत बढेको बताए । उनले प्राधिकरण राज्यको सबै संयन्त्र नभएको भन्दै राज्यले पनि गर्नुपर्ने बताए । घिसिङले प्रत्येक वर्ष २० देखि २५ प्रतिशतले विद्युत खपत बढाएर उर्जा क्षेत्रको ठूलो फड्को मारेको बताए ।
निर्देशक घिसिङले विद्युत प्राधिकरणले ३७ वर्षको इतिहासमा सबैभन्दा बढी १६ अर्ब १६ करोड ५० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बताए । उनले विद्युत खपतमा भएको वृद्धि, विद्युत चुहावट नियन्त्रण,प्राधिकरणको विद्युत गृहबाट उत्पादित विद्युत परिणाममा भएको वृद्धि, ४५७ मेगावाट माथिल्लो तामाकोशी जलविद्युतको सञ्चालन, विद्युत आयातमा कमी, निर्यातमा भएको वृद्धि र अन्य आयमा भएको वृद्धि तथा खर्च नियन्त्रणका कारणले मुनाफा आर्जन सम्भव भएको दाबी गरे ।
उनले नेपालका ९३ प्रतिशत जनताले विद्युत सुविधा पुगेको बताए । घिसिङले वैकल्पिक उर्जा समेत गरेर करिव ९६ प्रतिशत जनताले विद्युत सुविधा पाएको दाबी गरे । उनले अहिलेसम्म ४२ जिल्ला पूर्णविद्युतीकरण भएको र आगामी दुई वर्षभित्र शतप्रतिशत जनता सामु विद्युत पहुँच पु¥याउने सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले सम्पूर्ण साधन, स्रोत परिचालन गरेको बताए । उनले विद्युत चुहावट प्राधिकरणको आर्थिक सुधार गर्नु मुलमन्त्र भएकाे पनि बताए ।
उनले भारतलाई अहिले दैनिक ४०० सय मेगावट विद्युत निर्यात गरिरहेको बताए । विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुको साथै विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको घिसिङको भनाई छ ।
विद्युत प्राधिरकणले आफ्नो करिव २ दर्जन भावी कार्ययोजनाहरू समेत सार्वजनिक गरेको छ । प्राधिकरणको प्रणाली सुधार्नेदेखि ठूला आयोजना बनाउनेसम्म विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । प्राधिकरणले सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी उत्पादन मिश्रणमा आधारित ठूलो क्षमताको जलाशययुक्त तथा अर्ध जलाशययुक्त जलविद्युत आयोजनाहरुको विकास गर्ने योजना अगाडि सारेको छ । काठमाडौं लगायतका प्रमुख शहरहरुमा वृद्धि भइरहेको उच्च विद्युत मागलाई सम्बोधन गर्न प्राधिकरणले आगामी ३० वर्षको माग व्यवस्थापन हुने गरी प्रसारण तथा वितरण पूर्वाधार निर्माण गर्ने योजना कार्यान्वयन गर्दै लैजाने योजना सार्वजनिक गरेको छ ।