घाटामा गएका सहकारीलाई लाभांश वितरणमा रोक, माग गरिएको विवरण समयमै बुझाउनु पर्ने |
काठमाडौं । सहकारी विभागले घाटामा गएका सहकारीलाई बोनस र लाभांश वितरणमा रोक लगाएको छ। विभागले एकिकृत निर्देशन जारी गर्दै यस्ताे राेक लगाएकाे हो ।
विभागले सहकारीका संचालक, केन्द्रीय संघ तथा सदस्यहरुकालागि सम्बोधन गर्दै निर्देशन जारी गरेको छ । सञ्चालन घाटा भएका सहकारीले नाफामा सञ्चालन नहुन्जेलसम्म शेयर लाभांश नदिने उल्लेख छ। घाटामा रहेका शाखा तथा सेवा केन्द्र बन्द गर्ने उपाय अवलम्बन गर्न विभागको निर्देशन छ ।
साथै मितव्ययीता अपनाएर निश्चित प्रतिशतले प्रशासनिक खर्च घटाउन र तत्काल प्रतिफल प्राप्त हुन साना व्यवसायमा गरी कर्जा लगानी र स्थिर सम्पत्तिमा सकेसम्म कर्जा लगानी नगर्न विभागको निर्देशन छ।
विधि र पद्धतिमा सञ्चालित भएका सहकारी संस्थाहरुले तरलताको उपलब्ध, विधि र पद्धति, वित्तीय एंव संस्थागत क्षमताका आधारमा सहकारीले बचत फिर्ता गर्नुका साथै लाभांश वितरण गर्न सक्ने व्यवस्था गरेको छ । त्यसैगरी, आवधिक र ठूलो बचत संकलन भन्दा नियमित बचतमा जोड दिन विभागको निर्देशन छ ।
निर्देशनमा ऋण असुली प्रक्रियालाई प्राथमिकता दिई कार्ययोजना बनाउने उल्लेख छ । सञ्चालक समितिको बैठकबाट मात्रै गर्ने, एकल निर्णयको जिम्मेवारी र जवाफदेही हुनुपर्ने उल्लेख छ। संस्थाको अन्तरिक प्रणालीलाई संस्थागत गर्न र कारोबार सञ्चालन भइरहने व्यवस्था मिलाई संस्थाको क्रियाकलापमा निरन्तरता दिन पनि भनेको छ ।
त्यसैगरी, सहकारी संस्थाहरुले मासिक वा वार्षिक र माग भएका अन्य विवरणहरु यथासमयमै नियामक निकायमा बुझाउनु पर्ने साथै आवश्यक सूचनाहरु कोपोमिस प्रणालीमा प्रविष्टि गर्नु पर्ने उल्लेख गरेको छ।