कृषि औजार कारखानाको अध्ययन गर्न राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष पुनलाई अर्थमन्त्रीको आग्रह |
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय आविस्कार केन्दका अध्यक्ष महावीर पुनबीच अर्थमन्त्रालय, सिंहदरबारमा सोमबार भेटवार्ता भएको छ । भेटमा अर्थमन्त्री शर्माले कृषि औजार कारखाना संचालनकालागि राष्ट्रिय आविस्कार केन्द्रलाई अध्ययन गर्न आग्रह गरे ।
भेटका क्रममा अर्थमन्त्री शर्माले सरकारले कृषि औजार कारखानालाई संचालन गर्ने निर्णय गरेकाले उक्त कारखानाको हालको अवस्था अध्ययन गरी त्यसलाई संचालन गर्न आवश्यक रहेको बताए ।
'' कृषि औजार कारखानाको अवस्थाको अध्ययन गरी छिट्टै संचालनमा ल्याउने गर्ने र यसलाई कृषि औजार उत्पादन कारखाना मात्र नभई कृषि औजार आविस्कार केन्द्रको रुपमा पनि विकास गर्ने सरकारको लक्ष रहेको छ''-उनले भने ।
केन्द्रका अध्यक्ष महाबीर पुनले कृषि औजार कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरुको उत्पादन गर्ने, मर्मत सम्भार गर्ने तथा नयाँ औजार उपकरणहरुको आविस्कार गर्ने पनि बताए । कारखानालाई पुनर्जीवन दिई उक्त स्थानमा कृषि औजार आविस्कार केन्द्र समेत बनाउने अर्थ मन्त्रीको योजनाप्रति आफ्नो समर्थन रहेको बताउदै पुनले भने – कृषि औजार कारखानाले नेपालका ग्रामीण किसानलाई आवश्यक पर्ने कृषि औजार निर्माण गर्नुका साथै साना तथा मझौला उद्योगलाइ आवश्यक पर्ने औजारहरु समेत निर्माण गर्न सकिन्छ।
कृषि औजार कारखानालाई कम्प्युटर प्रविधिबाट समेत संचालन हुने गरि आधुनिकीकरण समेत गर्न सकिने आविस्कार केन्द्रका अध्यक्ष पुनले बताए। अर्थमंत्री शर्माले राष्ट्रिय आविस्कार केन्द्रको अध्ययनको सुझाव अनुशार सरकारले छिट्टै कृषि औजार कारखानालाई पुनर्जीवन दिने बताए।
कृषि औजार कारखाना कृषि कार्यमा प्रयोग हुने मानव, पशु र यान्त्रीक शक्तिबाट संचालन हुने सस्तो, सरल, तथा सुलभ तरिकाबाट भूगोल सुहाउँदो कृषि यन्त्र र उपकरण उत्पादन गरी आयात प्रतिस्थापन गर्ने तथा कृषि कृषि क्षेत्रमा रोजगारी सृजना गरेर आय आर्जन क्षमता बढाउने उद्धेश्यका साथ नेपाल सरकार र तत्कालिन सोभियत संघको संयुक्त लगानीमा वि.स. २०२१ सालमा स्थापना भएको थियो । कम्पनीमा परिणत भएको कृषि औजार कारखाना, बीरगञ्जले शुरुका वर्षहरुमा कृषि औजारहरुको पर्याप्त उत्पादन गरी आपूर्ति गरेता पनि विविध कारणबाट कृषि औजार उत्पादनमा न्यून हुन गएको छ । बि॰सं॰ २०४८ सालमा नीजिकरण भएको कृषि औजार कारखानालाई २०५१ फाल्गुणमा नीजिकरण फुकुवा गरि संचालनमा आएकोमा २०५३ आषाढसम्म उद्योगन्यून क्षमतामा संचालनमा रहेको थियो । नीजिकरण भए पश्चात घाटामा सञ्चालन भएको र व्यवस्थापकिय लगायत विविध समस्याहरुका कारण पटक पटक उत्पादन बन्द हुने गरेको यो कारखाना वि.स. २०५९ सालदेखि पूर्ण रुपमा बन्द गरेको देखिन्छ ।