वाइड बडी खरिदमा अनियमितता भएको भन्दै सांसदद्वारा कारबाहीको माग |
काठमाडौं । नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरिदमा अनियमितता भएको भन्दै सत्तारुढ दलका सांदहरूले कारबाहीको सिफारिश गर्न माग गरेका छन् । लेखा समितिको आइतवार बसेको बैठकमा सत्तारुढ नेकपाका सांसदहरूले त्यस्तो माग गरेका हुन् ।
सत्तारुढ नेकपाका सांसद प्रेम आलेले महालेखा परीक्षकको प्रतिवेदनले नै विमान खरिदमा अनियमतिता भएको ठहर गरिसेकेको र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले समेत महालेखाको प्रतिवेदन सही भएको स्वीकार गरेको सन्दर्भमा सरकारले उक्त प्रकरणमा भएको अनियमितताका विषयमा कारबाहीका लागि सिफारिश गर्नुपर्ने माग राखे ।
नेकपाकै अर्का सांसद अमनलाल मोदीले पनि भ्रष्टाचार भएको छैन कि भन्नुपर्ने अवस्था नभएको भन्दै संलग्न अधिकारीहरूलाई कारबाही हुनुपर्ने बताए । बैठकमा सहभागी अन्य सांसदहरूले समेत कारबाहीको माग राखेका थिए ।
निगमका महाप्रबन्धक कंसाकारले भने वाइडबडी जहाज खरिद प्रकरणमा अनियमितता नभएको दाबी गरे । ‘हामीले खरिद गरेको भन्दा सस्तोमा जहाज आउँछ भन्ने पनि कुरा आयो’ उनले भने, ‘हामीले टेण्डर आह्वान गरेर जहाज खरिद गरेका हौं । सस्तोमा दिन्थ्यो भने त्यो कम्पनीले किन टेण्डर हालेन त ?’
महानिर्देशक कंसाकारले २४२ टन क्षमताको विमान खरिद गर्ने निर्णय भएको तर, त्योभन्दा कम क्षमताको विमान खरिद भएको हल्ला पनि निराधार रहेको बताए । उनले विमानको क्षमताबारे निगमले कुनै निर्णय नगरेको प्रष्ट पारे । अर्का सांसद सूर्य पाठकले कि महालेखा परीक्षकको प्रतिवेदन गलत छ भनेर भन्नुपर्यो, नत्र जवाफ दिनुहोस् भनेपछि महाप्रबन्धक कंसाकारले महालेखाजस्तो निकायले गलत प्रतिवेदन दिएको हो भनेर आफूले भन्न नसक्ने बताए ।
लगत्तै सांसदहरूले महानिर्देशकले गल्ती स्वीकार गरेको भन्दै कारबाहीका लागि सिफारिश हुनुपर्ने धारणा राखेका छन् । तर, लेखा समितिका सभापति भरत शाहले नियम कानूनअनुसार चल्ने र अहिले नै कुनै सिफारिश नहुने बताए । १२ गते थप छलफल गरेर समिति आवश्यक निर्णयमा पुग्ने उनले जानकारी दिए ।