निजीक्षेत्रका बैंकहरू वित्तीय व्यवस्थापन गर्ने सन्दर्भमा चुकेका छन् : गभर्नर |
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाले आफ्नो निक्षेप संकलन तथा कर्जा विस्तार योजनाबद्ध ढंगले गर्न नसकेको बताएका छन् । उनले निजीक्षेत्रका बैंकहरू वित्तीय व्यवस्थापन गर्ने सन्दर्भमा चुकेको आरोप लगाए । उनले नेपाल वित्तीय संस्था कर्मचारी संघले आयोजना गरेको ‘सोसल डाइलग अन बैंक एण्ड फाइनान्सियल सेक्टर इस्यु’ कार्यक्रममा त्यस्तो आरोप लगाएका हुन् ।
गभर्नर नेपालले सरकारी बैंकहरूमा अझै पनि लगानीयोग्य पूँजीको अभाव नभएको बताउँदै बैंक तथा वित्तीय संस्थाहरूलाई सीसीडी अनुपात घटाउने सन्दर्भमा बार्गेनिङ नगर्न चेतावनी दिए ।
उनले भने, ‘बजारबाट जति कर्जाको माग आयो, त्यो खुरुखुरु दिने तर निक्षेप बढाउन नसक्ने, अनि सुरक्षाका लागि राखिएको २० प्रतिशत सीसीडी रेसियोमा आँखा लगाउने ?’
सो अवसरमा गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थामा ‘सोसल डाइलग’को मुख्य विषयवस्तु भनेकै जनताको पैसाको सुरक्षा भएकाले त्यसमा नेपाल राष्ट्र बैंकले सम्झौता नर्ग नसक्ने प्रष्ट पारे ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले उक्त विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले बैंक तथा वित्तीय संस्थाहरूको आकार कुल गार्हस्थ्य उत्पादनभन्दा बढी पुगेको भन्दै केही समस्या रहे पनि नेपाली वित्तीय क्षेत्रमा ठूलो प्रगति हासिल भएको आँकडा प्रस्तुत गरे ।