काठमाडौं उपत्यकामा ४ प्रतिशतले मूल्य वृद्धि बढ्यो | गैर–खाद्य तथा सेवा समूहमा पनि मूल्य वृद्धि दर ५.२ प्रतिशत पुग्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत असोज महिनासम्मको आर्थिक अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनअनुसार नेपालमा मूल्य वृद्धि दर बढ्न थालेको देखिएको छ । प्रतिवेदनमा पहाडमा ६.१ प्रतिशत, तराईमा ४.३ प्रतिशत, हिमालमा ४.२ प्रतिशत र काठमाडौं उपत्यकामा ४ प्रतिशतले मूल्य वृद्धि बढेको उल्लेख छ ।
अघिल्लो आवको असोजमा ३.१ प्रतिशत रहेको मूल्य वृद्धि दर यसपालि ४.७ प्रतिशत पुगेको छ । खासगरी दैनिक उपभोग्य सामग्री खाद्यान्न, तरकारी, माछामासु र पेय पदार्थको मूल्य तथा घरभाडा बढेका कारण समग्र मूल्य वृद्धि उक्लिएको हो ।
प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि दर ३.४ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष यो दर ०.५ प्रतिशत थियो । खाद्यान्न तथा खाद्यजन्य पदार्थ, मासु तथा माछा, घिउ तथा तेल एवम् सुर्तीजन्य पदार्थलगायतका उप–समूहका वस्तुहरूको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि बढेको हो ।
अघिल्लो वर्ष गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि दर ५.२ प्रतिशत रहेकोमा बढेर यो वर्ष वृद्धि ५.७ प्रतिशत पुगेको छ । यातायात, फर्निसिङ तथा घरायसी उपकरण, मनोरञ्जन तथा संस्कृति एवम् घरायसी उपयोगिता तथा सेवालगायतका उप–समूहका वस्तु तथा सेवाहरूको मूल्यमा वृद्धि भएकाले समग्र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको हो ।