व्यापारिक मानसिकताले उद्योगीहरूले ‘उल्टो बाटो’ लिएको उद्योगमन्त्रीको आरोप |
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुले उद्योग स्थापनामा जोड नदिएर व्यापारिक मानसिकता मात्रै राखेर ‘उल्टो बाटो’ लिएको आरोप लगाएका छन् । उद्योग दिवसको अवसरमा आइतवार काठाडौंमा आयोजित एक कार्यक्रममा उनले त्यस्तो आरोप लगाएका हुन् ।
मन्त्री यादवले उद्योगीहरूले सरकारको नीति, व्यवहार केही पनि ठीक नभएको भन्ने गरेकोप्रति आपत्ति जनाउँदै स्वदेशी उद्योगमा जोड दिएर अघि बढ्न पनि आग्रह गरे । उद्योगीहरूलाई व्यापारिक मानसिकता मात्रै बोकेर नहिँड्न उनको सुझाव थियो ।
मन्त्री यादवले व्यापारीहरूले देशको भन्दा पनि आफ्नो मुनाफामा मात्रै ध्यान दिएको गुनासो गरे । उद्योग संचालनका लागि आवश्यक वातावरण नबनेको भनेर उद्योगीहरूले अन्तरराष्ट्रिय लगानी आउने वातावरण पनि बिगार्ने गरेको उनको दाबी छ । उनले स्वदेशी वस्तुको उत्पादनमा उद्योगीहरूले जोड दिए त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको पनि दोहोर्याए ।