कृषि विकास बैंकद्वारा नयाँ सीईओका लागि सार्वजनिक आव्हान | अन्य वित्तीय संस्थामा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने, तलब २ लाख ५० हजार
काठमाडौं । कृषि विकास बैंकले खुल्ला प्रतिस्पर्धामार्फत नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्ने भएको छ । वर्तमान प्रमुख कार्यकारी अधिकृत लीलप्रकाश सिटौलाको समयावधि सकिनै लागेपछि बैंकले खुल्ला प्रतिस्पर्धाद्वारा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि सार्वजनिक आह्वान गरेको छ । सिटौलाको समयावधि आगामी पुसमा सकिँदै छ ।
बैंकले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन र कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्तिसम्बन्धी कार्यविधि २०७५ लाई समेत आधार मानी सोहीअनुसार न्यूनतम योग्यता भएका व्यक्तिहरूलाई आवेदन दिन सक्ने बताएको छ । उक्त पदका लागि आवेदकले व्यवस्थापन, अर्थशास्त्र, गणित वा सो सरहका विषयहरूमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था, सरकारी संस्था वा अन्य संगठित संस्थाको व्यवस्थापनमा रहेर कम्तीमा १० वर्ष काम गरेको हुनुपर्नेछ ।
उम्मेदवारहरूले आफू नियुक्त भए आफ्नो कार्यकालभरि गरिने कामहरूबारेको व्यावसायिक योजना तयार गरी मूल्यांकन समितिमा पेश गर्नुपर्नेछ । समितिले शैक्षिक योग्यता, व्यावसायिक योजनालगायतका विवरणका आधारमा बढीमा ५ जनासम्मलाई छनोट गरी अन्तरवार्ताका लागि छनोट गर्ने र तीमध्ये तीन जनालाई नियुक्तिका लागि बैंकको सञ्चालक समितिलाई सिफारिश गर्नेछ ।
सो बैंकमा नियुक्त हुने प्रमुख कार्यकारी अधिकृतले मासिक तलब २ लाख ५० हजार रुपैयाँ एवम् अन्य सेवा सुविधाहरू प्राप्त गर्नेछन् । सामान्यतया निजी क्षेत्रका वाणिज्य बैकहरूमा काम गर्ने सीईओको मासिक तलव ८ लाखदेखि २० लाख रुपैयाँसम्म हुने गरेको छ ।