निर्मलाका हत्यारालाई जनताका बीचमा ल्याई कारबाही गर्ने प्रकाण्डको घोषणा | घटनामा सरकार सञ्चालककै छोरा संलग्न रहेको दाबी
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा सरकार सञ्चालककै छोराको संलग्नता रहेको ठोकुवा गरेका छन् । हिजो शनिवार राजधानीमा शक्ति प्रदर्शन गरेको उक्त पार्टीका प्रवक्ता प्रकाण्डले सार्वजनिक आमसभास्थलबाटै बलात्कारी र हत्यारा सरकार सञ्चालककै सन्तान भएको दाबी गर्दै अब आफ्नै पार्टीले हत्याको अनुसन्धान गरेर अपराधीलाई कारबाही गर्ने घोषणासमेत गरेका छन् ।
विभिन्न हिंसात्मक कारबाहीहरू गर्दै आएको विप्लव समूहले हत्यारालाई कारबाहीको धम्की दिएसँगै र त्यसमा सरकार सञ्चालककै सन्तानको संलग्नता रहेको ठोकुवा गरेपछि अब नेताका छोराछोरीमाथि सुरक्षाको चिन्ता थपिएको छ ।
विरोध सभामा बोल्दै प्रवक्ता प्रकाण्डले भने, ‘यो सरकार न अपराधीलाई पत्ता लगाउन सक्छ, न त कारबाही नै गर्न सक्छ । यसले के प्रष्ट हुन्छ भने सरकार नै निर्मला पन्तको हत्या र बलात्कारका घटनामा संलग्न छ ।’
उनले थपे, ‘सरकारका मान्छेहरू नै, सरकार चलाइराखेका मान्छेका छोराछोरी नै निर्मला पन्तको हत्या र बलात्कारमा संलग्न छन् भन्ने प्रष्ट हुन्छ । नत्र राज्य नै लागेपछि एउटा बलात्कारीलाई समात्न सकिँदैन ?’
उनले घोषणा गर्दै भने, ‘अब हाम्रो पार्टीले अपराधीको अनुसन्धान गर्छ । हाम्रो पार्टीले अपराधी पत्ता लाउँछ र यो सरकारका अगाडि, जनताका बीचमा ल्याएर निर्मलाको हत्या र बलात्कार गर्ने अपराधीलाई कारबाही गर्नेछ ।’
अनुसन्धानका क्रममा घटनास्थलआसपासका सीसी क्यामेराका फुटेजहरू डिलिट गरिएको भनिएकोमा त्यसको रिकभरीका लागि काठमाडौं ल्याइएकोमा अहिलेसम्म पनि त्यसलाई गुपचुप राखिएको छ । सो फुटेजमा केही भीआईपीका सन्तान पनि देखिएको चर्चा चलेको थियो । पूर्वमन्त्री खड्गबहादुर विकले बलात्कार र हत्याका घटनामा सरकार सञ्चालकका छोराछोरीको संलग्नता रहेको बताएको शायद त्यसैले पनि हुन सक्छ ।
उक्त पार्टीले आयोजना गरेको उक्त शक्ति प्रदर्शन कार्यक्रममा भूमिगत रहेका पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द (विप्लव) सार्वजनिक हुने समाचारहरू आए पनि उनी भने सार्वजनिक भएनन् ।