जनस्तरमा प्रभाव पर्ने आयोजना तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्तरमा प्रभाव गर्ने आयोजनाहरू छिटो कार्यान्वयन गर्न निर्देशन दिएका छन् । उनले पहिलो चौमासिकमा पूरा हुन नसकेका लक्ष्यलाई पनि दोस्रो चौमासिकमा पूरा गर्न निर्देशन दिएका छन् । साथै निर्णय छिटो गर्ने र धेरै समय नलगाई कार्यान्वयनमा लैजान उनले निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम चौमासिक समीक्षामा आज त्यस्तो निर्देशन दिएका हुन् । उनले थप रकम दिने अवस्था नभएको भन्दै भएको बजेटबाट व्यवस्थापन गरी जनस्तरमा प्रभाव गर्ने राम्रा आयोजनाहरु तत्काल कार्यान्वयन गर्न निर्देशन दिए ।
समीक्षा कार्यक्रममा गृह, अर्थलगायतका आठ मन्त्रालयको लक्ष्य र प्रगतिबारे छलफल भएको छ । यससँगै प्रथम चौमासिक समीक्षा सकिएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार समीक्षा बैठकमा प्रक्रियामा लामो समयसम्म अल्झिएको निष्कर्ष निकालिएको छ । ‘अब प्रक्रियालाई नतिजामुखी बनाउने गरी छिटो अघि बढ्नुपर्यो’ उनले भने, ‘केही कार्यक्रममा बजेट अपुग भएको देखियो । अधिकार क्षेत्रभित्र रहेर रकमान्तर गरेर कार्यक्रम अगाडि बढाइनेछ ।’