सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार देवकोटा र बराललाई दिने निर्णय |
काठमाडौं । यस वर्षको ‘प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार कृष्णज्वाला देवकोटा र अरुण बराललाई दिने निर्णय गरिएको छ । सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनोट समितिले पत्रकार देवकोटा र बराललाई ५ लाख राशिको उक्त पुरस्कार जनही २ लाख ५० हजार रुपैयाँ पाउने गरी प्रदान गर्ने निर्णय गरेको हो ।
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, वरिष्ठ पत्रकार तीर्थ कोइराला सदस्य र काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाल सदस्यसचिव रहेको पुरस्कार छनोट समितिको बैठकले पुरस्कार वितरण गर्ने भएको छ । उक्त बैठकले अग्रज पत्रकारहरूको उपस्थितिमा यही मंसिर २४ गते प्रदान गर्ने निर्णय गरेको छ ।
लामो समयदेखि पत्रकारिता पेशामा संलग्न देवकोटा छापा पत्रकारितामार्फत नयाँ ढाँचामा समाचार सामग्री सम्प्रेषण गर्दै आएको नयाँ पत्रिका दैनिकका प्रधानसम्पादकका रूपमा रहेका छन् । त्यस्तै, पत्रकार बराल अनलाइन सञ्चारमाध्यमको रूपमा अनलाइन खबर डटकमका सम्पादक हुन् ।