श्वेत गंगा हाइड्रोपावरको आइपीओ बाँडफाँट, २ लाख २७ हजार २ जनाले पाए १० कित्ता सेयर |
काठमाडौं । श्वेत गंगा हाइड्रोपावरको आइपीओ आज (साउन १८ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत २ लाख २७ हजार २ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा १५ लाख ४३ हजार ९५४ जनाले आवेदन दिएकामा ४ हजार ४४० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी गराएको छ ।
श्वेत गंगाले साउन ४ गतेबाट ८ गतेसम्म सर्वसाधारणका लागि २२ लाख ७० हजार २५ कित्ता आइपीओ बिक्री खुला गरेको थियो । कुल २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेकामा ५% अर्थात् १ लाख १९ हजार ४७५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो ।
लगानीकर्ताले सानिमा क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, श्वेत गंगा हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।