इम्पेयरमेन्ट चार्ज छुट्याएपछि छिमेक लघुवित्तको नाफा घट्यो |
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ३ करोड २२ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २१.४३% कम हो । अघिल्लो वर्ष यसै अवधिमा छिमेकले १ अर्ब ३१ करोड ३८ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले खुद ब्याज आम्दानी भने ११.६९% ले बढाएर २ अर्ब ४९ करोड ५ लाख रुपैयाँ पुर्याएको छ ।
यद्दपि, यस वर्ष ऋण तथा अन्य नोक्सानी व्यवस्थाका लागि २४ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएपछि सञ्चालन नाफा १२.५९% ले घटेर १ अर्ब ६० करोड रुपैयाँमा आएको छ । जसका कारण खुद नाफा प्रभावित भएको देखिन्छ । गत वर्ष यसै अवधिमा भने ६ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्ज फिर्ता भएको थियो ।
छिमेकको निक्षेप संकलन र कर्जा लगानी दुवै सुधार भएको छ । चुक्ता पुँजी २ अर्ब ३२ करोड रुपैयाँ भन्दा बढी पुगेको छ । रिजर्भ कोषमा पनि ५.८९% सुधार हुँदै २ अर्ब ९ करोड २४ लाख रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ २० पैसा छ ।