अमेरिकी आधारहीन र तथ्यरहित आरोप चीनलाई स्वीकार्य हुँदैन : गाओ फेङ |

बेइजिङ, चीन । वासिङ्टनले केही दिनअघि मात्र गैरकानूनी व्यापार गतिविधिबारे चीनमाथि लगाएका आरोपहरू बेइजिङलाई ‘स्वीकार्य नहुने’ चीनले हिजो बिहीवार बताएको छ । हिजो बिहीवार सञ्चारमाध्यमसँगको नियमित भेटघाटमा चीनको वाणिज्य मन्त्रालयले त्यस्तो भनाइ राख्दै वासिङ्टनका आरोपहरूको खण्डन गरेको हो ।
मन्त्रालयलका प्रवक्ता गाओ फेङले भने, ‘वासिङ्टनले तथाकथित अपडेट रिपोर्टका नाममा चीनमाथि विल्कुलै आधारहीन र तथ्यरहित आरोपहरू लगाएको छ, चीनलाई यो सह्य छैन ।’
विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुकका राष्ट्रप्रमुखबीच जी–ट्वान्टी सम्मेलनको अवसरमा महत्वपूर्ण भेटवार्ता हुने चर्चा चलिरहेको समय चीन र अमेरिकाबीच आक्रामक भनाइहरू आइरहेका छन् ।
चीनको व्यापारिक गतिविधिबारे गरिएका पहिलेका अनुसन्धानहरूको अद्यावधिक गर्दै गत मंगलवार वासिङ्टनले चीनले आफ्ना ‘गलत’ व्यापारिक गतिविधिलाई परिवर्तन गर्न तदारूकता नदेखाएको र पछिल्ला केही महिनायता अझै अविवेकी कार्य गर्न उद्दत बनेको आरोप लगाएको थियो ।
चीनले रोबेटिक्स र नवीकरणीय ऊर्जा क्षेत्रमा विभिन्न गैरकानूनी उपायमार्फत नियन्त्रणमा राख्दै विश्व औद्योगिकीकरणमा प्रभाव जमाउन खोजेको अमेरिकी अधिकारीहरूले दाबी गरेका थिए । अधिकारीहरूले चीनले आफ्नो भूमिमा रहेका अमेरिकी कम्पनीहरूलाई दबाबमा पारेर अमेरिकी बौद्धिक सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाएका थिए ।
यसै विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीनबाट अमेरिका निर्यात गरिने २ खर्ब ५० अर्ब अमेरिकी डलर चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गरेको थियो । बदलामा चीनले पनि अमेरिकाबाट चीन ल्याइने १ खर्ब अमेरिकी डलरबराबरको सामानमा करवृद्धि गरेको थियो ।
गाओले सञ्चारकर्मीसँग भने, ‘हामी चाहन्छौं, अमेरिकाले दुई पक्षीय आर्थिक र व्यापारिक सम्बन्धलाई बिगार्ने किसिमका भनाइ तथा गतिविधिलाई रोकोस् र सम्बन्धलाई पूरानो अवस्थामा ल्याउन रचनात्मक धारणाको अवलम्बन गरोस् ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनपिङसँग नोभेम्बरको अन्त्यमा अर्जेन्टिनामा हुने जी–ट्वान्टी शिखर सम्मेलनका अवसरमा व्यापार विवादबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।
(स्रोत : एजेन्सी)