साधना लघुवित्तको नाफा ०.८३ प्रतिशतले घट्यो |
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ११ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेपनि सञ्चालन खर्च र कर्मचारी खर्च बढेपछि लघुवित्तको नाफामा दबाब परेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २३.८६ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा २.६४ प्रतिशत घटेको छ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ४२ पैसा घटेर ३६ रुपैयाँ १५ पैसा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.१८ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ७० पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेको छ भने जगेडा कोष ३०.७८ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ३३.५० प्रतिशत, निक्षेप ६०.७० प्रतिशत र कर्जा ६५.१० प्रतिशत बढेको छ।