द ब्रिटिस कलेजमा ‘टिबिसी मार्केटप्लेस’ सम्पन्न |
काठमाडौं । द ब्रिटिस कलेजले पहिलो वार्षिक ‘टिबिसी मार्केटप्लेस’ इभेन्ट आयोजना गरेको छ । लेभल ३ बिबिए करिकुलमको एक भागको रूपमा डिजाइन गरिएको उक्त कार्यक्रममा पहिलो वर्षका विद्यार्थीहरूद्वारा १८ वटा स्टलको व्यवस्था गरिएको थियो ।
सबै स्टलमार्फत स्थानीय व्यवसायीहरूका विभिन्न उत्पादनहरू बिक्री गरिएको थियो । थापाथलीस्थित ट्रेड टावरको भुईँ फ्लोरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरूलाई व्यावसायिक दृष्टिकोण, स्पोनसर्सिप प्राप्त गर्ने, ब्राण्ड डिजाइनिङ, उत्पादनको बिक्रिवितरण जस्ता कार्यहरू दिइएको थियो ।
उक्त प्राक्टिकल एसाइनमेन्टबाट कुल ग्रेडको ४० प्रतिशत योगदान हुनेछ र बाँकी प्रक्रिया अन्तर्गत परोपकारमा दान गरिनेछ । बिबिए कार्यक्रमका प्रमुख सौरभ सत्यालले मार्केटप्लेसबारे जानकारी दिँदै भने,‘टिबिसीमा विद्यार्थीहरूलाई व्यवहारिक सिकाई र शिक्षामार्फत आफूलाई प्रस्तुत गराउन हामीले प्रोत्साहित गर्छौँ । यो कार्यक्रम नै एउटा राम्रो उदाहरण हो । यो विद्यार्थीहरूका लागि एक अवसर हो जहाँ उनीहरूले आफ्नो अध्ययनलाई व्यवहारिक बनाउन सक्छन् ।’