मदिरा आयातमा प्रतिबन्ध लगाउँदा चोरी’पैठारी बढ्यो – आयातकर्ता सघं |
काठमाडौं । नेपाल मदिरा आयातकर्ता संघले सरकारले मदिराको आयात प्रतिबन्ध लगाउँदा चोरी/पैठारी बढेको बताएको छ । संघले विदेशी ब्राण्डका मदिराको आयात रोक्ने सरकारको निर्णयबाट चोरी पैठारी बढेको र राजश्व संकलन प्रभावित बनेको बताएको हो ।
सरकारले वैशाख १३ गते विदेशी मुद्रा सञ्चिती घटेको भन्दै सयौं वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । जसको सूचीमा विदेशी ब्राण्डका मदिरा पनि समेटिएका थिए । सरकारले उक्त प्रतिबन्धलाई ४५ दिन थप लम्ब्याउने निर्णय गरेको थियो । यससँगै आयातकर्ता व्यवसायीले यथाशिघ्र आयात खोल्नुपर्ने बताएका हुन् ।
‘बोतलबंद आयातित मदिराजन्य पदार्थहरूमा वार्षिक लगभग १ करोड २० लाख अमेरिकी डलर मात्र खपत हुन्छ,’ संघले भने, ‘जुन १५० करोड रुपैयाँ बराबर हो ।’ यो वार्षिक बाहिरिने कुल विदेशी मुद्राको ०.१ प्रतिशत मात्रै हुन आउने संघको भनाइ छ । सरकारले बोतलबद आयातित मदिराजन्य पदार्थहरूबाट वार्षिक लगभग ३३० करोड राजश्व प्राप्त गर्छ । जुन, वार्षिक बाहिरिने विदेशी मुद्राको दुई गुना भन्दा बढी हुने व्यवसायीको दाबी छ ।
प्रतिबन्ध लागेसँगै हाल उपलब्धताको कमीले बजारमा केही अन्तर्राष्ट्रिय ब्राण्डहरुको नक्कली र डुप्लिकेट सामानको उपलब्धता देखिन थालेको छ । जसले अब नेपाली समाजमा व्यापक रुपमा जनस्वास्थ्यमा प्रतिकल असर पार्न सक्ने संघको भनाइ छ । नेपालमा उच्च भन्सार शूल्क र अन्तःशुल्कका कारण नेपाल र भारतीय बजारमा मदिराको मूल्य ठूलो अन्तर भएकाले भारतका उत्तरप्रदेश र पश्चिम बंगाल हुदै सीमापारिबाट लोकप्रिय ब्राण्डहरुको ठूलो परिमाणमा तस्करी हुन थालेको बताइएको छ ।
होटल, रेस्टुरेन्ट र बारहरुले ठुलो आय आर्जनको क्षमता गुमाउँदै जान थालेको व्यवसायीको भनाइ छ । सोहीकारण, विदेशी मदिरामाथि लागेको सरकारी प्रतिबन्ध यथाशिघ्र खोलिनुपर्ने संघले जनाएको छ ।