ज्योति लाइफ इन्सुरेन्सले साउन २४ मा बोलायो विशेष सभा |
काठमाडौं । ज्योति लाइफ इन्सुरेन्सले साउन २४ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको बिहीबार (साउन ५ गते) बसेको सञ्चालक समिति बैठकले विशेष साधारण सभा बस्ने निर्णय गरेको छ । सभामा कम्पनीको १९% संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्ने एजेन्डा छ । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१% र सर्वसाधारण समूहको ४९% कायम हुनेछ छ । यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ७०% र सर्वसाधारण समूहको ३०% कायम रहेको थियो ।
यस्तै, सभामा सूर्या लाइफ इन्सुरेन्सँग मर्ज हुने प्रस्ताव पनि पेश हुँदैछ । हाल सूर्या लाइफ र ज्योति लाइफ इन्सुरेन्सको सेयर कारोबार रोक्का छ । सूर्या लाइफ र ज्योति लाइफ इन्सुरेन्स एक आपसमा गाभिने भएपछि दुवैको असार १३ गतेदेखि सेयर कारोबार रोक्का गरिएको हो । यी दुई कम्पनीबीच असार १२ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । बिमा समितिको निर्देशनपछि अहिले बिमा कम्पनीहरु पुँजी वृद्धिको दबाबमा छन् ।
बिमा समितिको चैत १० गतेको निर्देशन अनुसार एक वर्षभित्रै निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनेपर्ने हुन्छ । हाल सूर्या लाइफको चुक्ता पुँजी २ अर्ब ४२ करोड र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ ।