ब्रोकर कार्यालयलाई सूचना प्रविधिसम्बन्धी जनशक्ति राख्न अनिवार्य गराउने नेप्सेको तयारी |
काठमाडौं । अबदेखि ब्रोकर कार्यालयहरूले अनिवार्य रूपमा कार्यालयमा सूचना प्रविधिसम्बन्धी जनशक्ति राख्नुपर्ने व्यवस्था नेपाल स्टक एक्चेन्ज (नेप्से) ले ल्याउने भएको छ । त्यसका लागि नेप्सेले सबै ब्रोकर कार्यालयमा सूचना प्रविधिसम्बन्धी जनशक्ति राख्न निर्देशन दिने भएको छ ।
अनलाइन कारोबारमा साना÷साना समस्या आएपछि नेप्सेले आईटी प्राविधिक राख्न निर्देशन दिन लागेको हो । नेप्सेका एक अधिकारीका अनुसार सामान्य समस्याका लागि समेत नेप्सेमा गुनासो गर्न थालेपछि प्राविधिक राख्नुपर्ने अवस्था देखिएको हो ।
गत कात्तिक २० गतेदेखि नेप्सेले ५० वटै ब्रोकर कार्यालयमार्फत पूर्ण स्वचालित अनलाइन शेयर कारोबार गराउँदै आए पनि प्रारम्भिक चरणमा नयाँ सफ्टवेयरमार्फत कारोबार गराउन समस्या देखिएको थियो । अनलाइन कारोबारका लागि कम्पनीलाई नेप्सेले गत जेठ ३० गते नै आफ्नै डाटा सेण्टर र डाटा रिकभरीका लागि पूर्वाधार तयार गर्न निर्देशन दिएको थियो ।
जनशक्तितर्फ कम्प्युटर इन्जिनियर र त्यही क्षेत्रका अन्य दुई जना सहायक कर्मचारी नियुक्त गर्नुपर्ने नेप्सेको निर्देशन थियो । तर ब्रोकर कम्पनीले वित्तीय भार पर्ने भन्दै डाटा सेण्टर र जनशक्तितर्फ लचकता अपनाउन आग्रह गरेका थिए । सोही आग्रहपछि नेप्सेले ब्रोकर कम्पनीलाई उक्त संयन्त्र भाडामा लिएर चलाउन सक्ने छुट दिएको थियो ।