मध्यपहाडी लोकमार्ग आयोजनाले माग्यो सरकारसँग ४ अर्ब | १७ सय किलोमिटर सडक आगामी चार वर्षभित्र सकिने
काठमाडौं । मध्यपहाडी लोकमार्ग आयोजनाले सरकारसँग ४ अर्ब रुपैयाँ थप बजेट मागेको छ । चालू आर्थिक वर्षको बजेट सकिने अवस्थामा पुगेको र काम भइसकेका वक्यौताको भुक्तानी दिन थप बजेट मागेको मध्यहाडी लोकमार्ग आयोजनाले जानकारी दिएको हो । आयोजनाका पूर्वी खण्डका सिनियर डिभिजनल इन्जिनियर नारायण पौडेलले पूर्व र पश्चिम दुई खण्डका लागि २२ अर्ब थप बजेट अर्थ मन्त्रालयसँग मागिएको बताए ।
चालू आवका लागि सरकारले पूर्व र पश्चिम दुवै खण्डका लागि करिब ५ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । जसमा पूर्वी खण्ड र पश्चिम खण्डका अढाइअढाइ अर्ब रुपैयाँ छुट्याइएको थियो । उक्त रकममा पूर्वी खण्डले १ अर्ब ८० करोड र पश्चिम खण्डले करिब ८० करोड रुपैयाँ खर्च गरिसकेका छन् । पश्चिम खण्डमा यसै वर्ष सबैजसो ठेक्का लगाइसक्ने लक्ष्य राखेकाले थप बजेट चाहिएको आयोजनाको दाबी छ ।
त्यस्तै, आर्थिक वर्ष २०७४७५ का लागि पूर्वी खण्डका लागि छुट्याएको करिब ३ अर्ब बजेट शतप्रतिशत खर्च भएको र पश्चिम खण्डमा पनि शतप्रतिशत खर्च भएको आयोजनाको बताएको छ । आव २०६४०६५ बाट विशेष प्राथमिकताका साथ मध्यपहाडी लोकमार्ग आयोजना निर्माण थालिएको हो । चलनचल्तीका सडक र नयाँ ट्रयाकसहित निर्माण शुरु गरिएको सडकको करिब ट्रयाक भने खुलिसकेको छ ।
ट्रयाक खुलिसकेका ठाउँहरुमा कालोपत्रे, स्तरोन्नतिलगायत कामहरू भइरहेका छन् । यो लोकमार्गले मध्यपहाडका २५ जिल्लाका करिब ३ सय बस्तीलाई जोडी करिब ७५ लाखभन्दा बढी नागरिकको जीवनस्तर उकास्नमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । आयोजनाका करिब १७ सय किलोमिटर लामो सडक आगामी चार वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।