किष्ट मेडिकल कलेजमा नेपालमै पहिलो पटक पाखुराको जोर्नी फुस्किएका व्यक्तिको सफल अपरेशन |
काठमाडौं । पाखुराको जोर्नी फुस्किने समस्या एक अर्थोपेडिक ईमरजेन्सी हो । सुन्दा अचम्म लाग्ला तर काठमाडौंकाे बानेश्वर बस्ने ४० वर्षीय सागर उप्रेतीले गएको १२ वर्षमा यो समस्या सयपटकभन्दा बढी झेले । उनी हरेक पटक नजिकको स्वास्थ्य केन्द्रमा गएर तानतुन पारेर जोर्नी मिलाउन लगाउथे र आफ्नो काममा फिर्ता जान्थे । तर, गएको केहि महिनामा समस्या निकै बढ्न थाल्यो । सुत्ने बेला कोल्टे फर्किदासमेत पाखुराको जोर्नी फुस्किन थाल्यो । त्यसपछि उनी किष्ट मेडिकल कलेज इमाडोलको सम्पर्कमा आए ।
नेपालका बरिष्ठ एवं अब्ब्ल आर्थ्रोस्कोपिक र खेल सर्जन प्रोफेसर डा. अमित जोशीज्यूको नेतृत्वमा रहेको उक्त सेन्टरमा डा. श्रीराज श्रेष्ठ र डा. सौरभ दाहालको टिम रहेको छ । डा. जोशीको टिमले एक्स-रे, सीटी स्क्यान र एमआरआईको सहायताले उप्रेतीको पाखुराको जाँच गरेर हेर्दा जोर्नीको ग्लेनोइड भन्ने भागमा ठुलो मात्रामा हड्डी धसेको तथा गेडीमा पनि केहि मात्रामा हड्डी नभएको पाए ।
धेरै पटक फुस्किरहने गर्दा हड्डी धस्ने हुन्छ तर उप्रेतीमा यो मात्रा निकै धेरै पाइयो । रिकरेन्ट शोल्डर डिस्लोकेशन मा गरिने अरु अप्रेशन जस्तै अर्थराकेपिक बैंकर्ट रिपेयर रलाटारजेट प्रासिडर मात्र गरेर उप्रेतीको समस्या समाधान नहुने देखियो । त्यही कारण डा. जोशीको टिमले नेपालमै अहिले सम्म नभएको अप्रेशन गर्ने निर्णय लियो र २०७९ असार १० गते किष्ट मेडिकल केलजमा यो अप्रेशन सफलतापूर्वक सम्पन्न भएकाे छ ।
यति धेरै संख्यामा पाखुराको हड्डी धसेको बिरामी कमै हुने गर्ने भएकाले नेपालमा पहिले यस किसिमकाे अप्रेशन कहिल्यै भएकाे थिएन ।