नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई कनेक्टिभिटी बढाउन पहल गरिने |
काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्य गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मी र नेपालका अष्ट्रेलियन राजदुतावासका नियोग उप प्रमुख पल म्याकिकर्नबीच भेटवार्ता भएको छ । नेपाल पर्यटन बोर्डमा सोमबार भएको भेटमा देशबीच दुवै देशको पर्यटन प्रवद्र्धन गर्न आपसी सहकार्य गर्न सकिने विषयमा छलफल भएको थियो ।
दुई देशबीच लामो समयदेखि प्रगाढ सम्बन्ध रहि आएको उल्लेख गर्दै भेटका अवसरमा आर्थिक तथा पर्यटन कुटनीतिका माध्यमबाट दुवै देशले फाइदा लिन सक्ने कुरामा जोड दिइएको थियो । यस्तै दुवै देशका कुटनीतिक व्यक्ति,सेलिब्रेटी,सञ्चारकर्मीहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिन र पर्यटनका राम्रा अभ्यासहरु आदान प्रदान गर्न सकिने विषयमा भेटका अवसरमा छलफल भएको थियो ।
बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. रेग्मीले कोभिड १९ पछि अहिले नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन थालेको जानकारी दिँदैे साहसिक पर्यटनमा रुची राख्ने अष्ट्रेलियन पर्यटकका लागि नेपाल एक आर्कषक गन्तव्य भएको बताए । उनले अष्ट्रेलिया र नेपाल बीच सीधा हवाई कनेक्टिभिटी नभएको कारण पर्यटक कम आएको उल्लेख गर्दै हवाई कनेक्टिभिटी बढाउन दुतावासमार्फत पहल गर्न आग्रह गरे ।
नेपालका अष्ट्रेलियन राजदुतावासका नियोग उप प्रमुख पल म्याकिकर्नले नेपालको विकासका लागि पर्यटन महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै आपसी सहकार्यका लागि दुतावास तयार रहेको बताए । अष्ट्रेलियामा नेपाली समुदायहरूको संख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा कुटनीतिक तथा जनस्तरबाट समेत दुई देशबीचको सम्बन्धलाई थप अगाडी बढाउनु पर्नेमा जोड दिए ।
Visited 1 times, 1 visit(s) today