राप्ती हाइड्रोको आइपीओमा पर्यो १५ लाख ३८ हजार बढीको आवेदन |
काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा १ अर्ब ७२ करोड ६५ लाख १५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (साउन १ गते) साँझ ५ बजेसम्ममा १५ लाख ३८ हजार ६८८ जनाले १ करोड ७२ लाख ६५ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ७.९३ गुणा बढी आवेदन हो । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ ।
कम्पनीले असार २९ गतेबाट २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन (आइपीओ) बिक्री खुला गरेको हो । कम्पनीले यसअघि स्थानीय बासिन्दालाई जारी गर्दा बिक्री नभएको ३७ हजार ६३२ कित्ता सेयर पनि थप गरेर आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये ५% अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोष र ३% अर्थात् ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।
बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । रेटिङ एजेन्सी कियर नेपालले राप्ती हाइड्रोको आइपीओलाई ‘कियरएनपी इस्यूअर रेटिङ बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।