चिनियाँ ब्रान्ड लिनिङको ब्रान्ड दूत बनिन् एन्जिला तुम्बापो |
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ क्लबकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा लिनिङको ब्रान्ड दूत बनेकी छिन्।
खेलकुद सामग्री उत्पादक कम्पनी लिनिङले एञ्जिलालाई आगामी दुई वर्षका लागि सद्भावना दूत नियुक्त गरेको हो।
एञ्जिला र लिनिङको आधिकारिक बिक्रेता चाइना ट्रेड लिंक प्रालिका प्रमुख कार्यकारी राजेन महर्जनका बीच शुक्रबार एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार एञ्जिलाको जीवनीमा आधारित रहेर बन्नलागेको चलचित्र ‘एञ्जिला’मा उनले लिनिङ ब्राण्डको उत्पादन प्रयोग गर्नेछिन्।
सम्झौताअनुसार 'एटीएस अर्थात् एन्जिला तुम्बापो सुब्बा १६' ब्रान्डको रुपमा लिनिङले सामग्री उत्पादन गर्नेछ। त्यसबाट आएको १० प्रतिशतमध्ये एन्जिलाले ५ प्रतिशत र बाँकी ५ प्रतिशत अन्य खेलाडीले पाउनेछन्।
एन्जिलाले पहिलो वर्ष ५ सेट ट्राकसुट, १० वटा टिसर्ट, ५ जोर जुत्ता, ५ वटा क्याप र २० जोर मोजा पाउनेछिन्।
त्यस्तै एन्जिलाले खेल्दाबाहेक अघिपछि लिनिङको ब्रान्ड प्रयोग गर्नेछिन्।
ब्रान्ड दूत बनेपछि एन्जिलाले निकै खुसी लागेको बताइन्। उनले भनिन्, ‘लिनिङले मलाई ब्रान्ड दूत बनाउँदा खुसी लागेको छ। अब अन्य स्पोर्ट्स ब्रान्डले पनि अरु खेलाडीलाई दूत घोषणा गर्ने विश्वास छ।’