कान्तिपुर टेलिभिजनले आइपीओ जारी गर्ने, सानिमा क्यापिटल बिक्री प्रबन्धक नियुक्त |
काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्कले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्ने जानकारी गराएको छ ।
आइपीओ निष्कासनका लागि कान्तिपुरले सानिमा क्यापिटलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कान्तिपुर टेलिभिजन नेटवर्कका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश प्रसाद सिरोहिया र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले नियुक्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
कान्तिपुर टेलिभिजनले २०६० असार २९ गतेदेखि विधिवत रुपमा प्रसारण सुरु गरेको थियो । सुरुवातमा टेरिस्टेल टावरबाट प्रसारण सुरु गरेको कान्तिपुर २०६८ सालमा अटोमेसन प्रविधिमा रुपान्तरण भएको थियो । यस टेलिभिजनले २०७४ मंसिर २७ गतेदेखि एचडी प्रविधिबाट प्रसारण गर्दै आइरहेको छ ।