सरकारको बेरुजु रकम ४ खर्ब ८३ अर्ब रुपैयाँ पुग्यो | गतवर्ष मात्रै १ खर्ब २७ अर्ब रुपैयाँ बराबर बेरुजु थपियो
काठमाडौं । सरकारको बेरुजु रकम ४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ सम्ममा सरकारको कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड भन्दा बढी देखिएको हो ।
प्रतिवेदन अनुसार गतवर्ष मात्रै १ खर्ब २७ अर्ब रुपैयाँ बराबर बेरुजु थपिएको छ । गएको आर्थिक वर्षमा संघ, प्रदेश र पालिकाको लेखा परीक्षणबाट १ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बेरुजु कायम भएको छ । महालेखाले अघिल्लो आर्थिक वर्षमा ५ हजार ६ सय ६५ वटा सरकारी निकायको ७५ खर्ब ३३ अर्ब ९ करोड रुपैयाँको लेखा परीक्षण गर्दा यो बेरुजु रकम निस्किएको जनाएको छ ।
महालेखाको प्रतिवेदन अनुसार सरकार अन्तर्गतका ३ हजार २ सय ८७ वटा कार्यालयको २८ खर्ब २० अर्ब रुपैयाँको लेखा परीक्षणबाट ४९ अर्ब ४७ करोड, प्रदेश सरकार अन्तर्गतका १ हजार १ सय ३१ वटा कार्यालयको २ खर्ब ९९ अर्ब रुपैयाँको लेखा परीक्षणबाट ७ अर्ब ४८ करोड र पालिकाको १० खर्ब ५१ अर्ब रुपैयाँको लेखा परीक्षण गर्दा ४३ अर्ब ९० करोड रुपैयाँ बेरुजु देखिएको छ ।