राष्ट्रपति देश छोडेर भागेपछि श्रीलंकामा संकटकाल लागू |
काठमाडौं । श्रीलंकामा संकटकाल लागू भएको छ । राष्ट्रपति गोटाबाया राजपाक्षे देश छोडेर भागेपछि प्रधानमन्त्री रनिल बिक्रमसिंघेले अनिश्चितकालका लागि देशभर संकटकाल लागू गरेका हुन् ।
यस्तै, राजधानी कोलम्बो समेत पश्चिमी प्रान्तमा अनिश्चितकालीन कर्फ्यू लगाइएको पनि त्यहाँको प्रहरीले जनाएको छ। राष्ट्रपति राजापाक्षे सैन्य विमानमा माल्दिभ्सको माले गएपछि बढ्दो विरोधलाई नियन्त्रण गर्न कर्फ्यू लगाइएको हो ।
श्रीलंकामा बुधबार पनि हजारौं प्रदर्शनकारीहरू प्रधानमन्त्रीको कार्यालयमा बाहिर जम्मा भएका छन् । प्रहरीले प्रदर्शनकारीहरूलाई प्रधानमन्त्री कार्यलय परिसरमा प्रवेश गर्नबाट रोक्नका लागि अश्रु ग्यास प्रहार गरेको छ ।
श्रीलंकाली नागरिकहरुको महिनौंको विरोधपछि राष्ट्रपति राजपाक्षे पदबाट राजीनामा दिन तयार भएका थिए । यद्दपि, बुधबार राजीनामा नगरी नै देश छोडेर भागेका हुन् ।