उत्पादनमुखी क्षेत्रमा लगानी विस्तार गर्नेगरी मौद्रिक नीति ल्याउन परिसंघको सुझाव |
काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति उत्पादनमुखी र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी विस्तार गर्नेगरी ल्याउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मंगलबार परिसंघले सुझाव दिँदै विद्यमान आर्थिक अवस्थालाई ध्यानमा राखेर अर्थतन्त्र चलायमान गराउने नीति लिन आग्रह गरेको हो ।
लगानीयोग्य तरलताको अभाव, भुक्तानी सन्तुलन, विश्व भू–राजनीति र मूल्यवृद्धि, औद्योगिकीकरण, निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन र खुम्चिँदो समग्र माग अर्थतन्त्रका विद्यमान चुनौती रहेको छ । अर्थतन्त्रका यस्ता चुनौती सामान गर्नेगरी मौद्रिक नीति ल्याउनुपर्ने गरी परिसंघले सुझाव दिएको छ । परिसंघले तरलताको राम्रो व्यवस्थापन, विदेशी मुद्रा नेपालमा भित्र्याउने एवं लगानीलाई उत्पादनशील र प्राथमिकता प्राप्त क्षेत्रमा निर्देशित गर्नेगरी मौद्रिक नीति ल्याउन आग्रह गरेको छ ।
विकास खर्च समयमा नहुने, अन्तर्राष्ट्रिय बजारमा इन्धन एवं कमोडिटीहरुको मूल्यवृद्धि, कोडिभ १९ ले आपूर्ति श्रृङ्खलामा ल्याएको अवरोधका कारण अर्थतन्त्र खुम्चिँदा हालको समग्र मागमा समेत संकुचन आएको परिसंघले बताएको छ । हालको तरलता तथा विदेशी विनिमय सञ्चितिको समस्या समाधानका लागि विदेशी संस्थागत लगानीकर्ताको निक्षेप बैंकमा ल्याउन पहल गर्नुपर्नेमा परिसंघले जोड दिएको छ ।
धितोरहित उत्पादनमुलक नयाँ तथा साना मझ्यौला उद्योगलाई प्रवर्द्धन गर्न १० अर्ब रुपैयाँको ‘उत्पादनमुलक तथा सेवा क्षेत्र प्रवर्द्धन लगानी कोष’ बनाई निश्चित सरकारी जमानतमा नयाँ, साना तथा मझ्यौला उद्योगमा बिना धितो कर्जा प्रवाह गर्ने कार्यक्रम ल्याउन परिसंघले सुझाव दिएको छ । सीडी रेसियोलाई ९२.५% कायम गर्ने गरिनु पर्ने सुझाव दिएको छ ।