कतार एयरवेजको अत्यधिक सफल उडान मार्ग २०१९ देखि पुनः सुचारु हुने |

काठमाडौं । कतार एयरवेजको हालै सञ्चालनमा आएको अन्टलया, बोड्रुम, म्याकोओनोस र मालागासम्मको उडान सेवा कम्पनीले थप उडान र विमानहरुसँगै मे २०१९ देखि पुनः सुचारु गर्ने घोषणा गरेको छ ।
विभिन्न पुरस्कारद्वारा पुरस्कृत यस एयरलाइन्सले मे २०१९ देखि अन्टलया, बोड्रुम तथा माइकोनोससम्मको मार्गमा एक साप्ताहिक उडान थप गर्ने बताएको छ । त्यस्तै अन्टलयासम्मको मार्गमा आफ्नो A320 विमानलाई अपग्रेड गर्दै A330 विमान र मालागासम्मको उडानका लागि बोइङ 787 ड्रिमलाइनरको स्थानमा बोइङ 777 विमान ल्याएको छ ।
चार महिना अघि यही वर्षको जुनमा संचालनमा आएदेखि टर्कीको बोड्रुम, माइकोनोस ग्रीस र मालागा स्पेनजस्ता अत्यधिक लोकप्रिय पर्यटकीय स्थलहरुसम्मको सबै चार उडान मार्गहरु हालसम्म प्रभावशाली देखिएका छन् ।
कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अक्बर अल बकरले भने “चार महिना अघि संचालनमा आएका हाम्रा सबै चार उडान मार्गहरुको प्रभावशाली प्रदर्शनबाट हामी निकै प्रसन्न छौँ । यात्रुहरुको यी लोकप्रिय पर्यटकीय स्थलहरुसम्मको नन–स्टप सेवाको मागलाई ध्यानमा राख्दै हामीले अन्टलया, बोड्रुम र म्याकोओनोससम्मको यस सेवालाई पुनः सुचारु मात्र नगरी एक साप्ताहिक उडान पनि थप गरेका छौँ । यात्रुहरुलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता कायम गर्दै अन्टलयासम्मको मार्गमा A330 विमान र मालागासम्मको उडानका लागि बोइङ 777 विमान पनि ल्याएका छौँ । ”