६ महिनामा ८२ हजारले लिए विदेश पढ्न जाने अनुमति, अष्ट्रेलिया जाने ५९ हजार ७४८ जना |
काठमाडौं । विदेशमा अध्ययन गर्न जान पछिल्लो ६ महिनामा मात्रै ८२ हजार भन्दा बढी नेपालीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार २०२२ जनवरी १ देखि जुलाई ४ सम्म(१७ पुस २०७८ देखि २० असार २०७९ सम्म) ८२ हजार ४०९ वटा एनओसी जारी भएको छ ।
यो गत वर्षको तथ्यांक भन्दा करिब दुई गुणा बढी हो । शाखाका अनुसार १७ पुस २०७७ देखि १६ पुस २०७८ को एक वर्षमा ४५ हजार ८४३ एनओसी जारी भएको थियो ।
गत चैतमा एनओसी लिनेको संख्या अत्यधिक बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले अनलाइनमार्फत मात्रै भेरिफिकेसन गरिरहेको छ ।
एनओसी लिनेमध्ये सबैभन्दा बढी अष्ट्रेलिया जान इच्छुक भएको एनओसी शाखाले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले जारी गरेको ८२ हजार ४०९ एनओसी मध्ये ५९ हजार ७४८ अष्ट्रेलियाका लागि भएका छन् ।
त्यसैगरी जापानका लागि ९ हजार ४३५, अमेरिकाका लागि दुई हजार ४१९, बेलायतका लागि एक हजार ७२२, रसियाका लागि ४४६, थाइल्यान्डका लागि १२२ वटा एनओसी जारी भएको छ ।
तर एनओसी जारी भएको संख्या बराबर नै नेपाली विद्यार्थी विदेश नजाने शाखाको भनाइ छ । कुनै देश अथवा विश्वविद्यालयमा अध्ययन गर्न जानको लागि एउटा विद्यार्थीले ३ वटासम्म एनओसी लिनुपर्ने अवस्था बताइएको छ ।
जापान, फ्रान्स लगायतका देशमा जाँदा भाषाका लागि एउटा र एकेडेमिक कोर्सका लागि अर्को गरी दुई वटा एनओसी लिनुपर्छ । त्यसैगरी कुनै विश्वविद्यालयले कोर्सलाई पनि पनि डिप्लोमा र एडभान्स डिप्लोमा गरेर दुई वटा बनाएका हुन्छन् ।
त्यस्तो विश्वविद्यालयमा भाषाका लागि एउटा र दुई वटा कोर्सका लागि दुई वटा नै एनओसी लिनुपर्ने हुन्छ । अष्ट्रेलिया जाने अधिकांश विद्यार्थीले एउटा मात्रै एनओसी र कुनै विश्वविद्यालयले भने दुई वटा कोर्स बनाएकाले दुई वटा नै एनओसी लिनुपर्ने शाखाले जनाएको छ ।
आवेदन दिएपछि विश्वविद्यालयले पठाउने अफर लेटरको आधारमा विद्यार्थीले एकदेखि तीनवटासम्म एनओसी लिने गरेका छन् ।
शाखाले २०७७ भदौदेखि अनलाइन मार्फत भेरिफिकेसन दिन थालेदेखि जारी भएको १ लाख ४१ हजार ९९ एनओसीमध्ये करिब ४ हजार एनओसी फिर्ता भएको जनाएको छ ।
एउटा देश अथवा विश्वविद्यालयको लागि जारी भएको एनओसी फिर्ता नभएसम्म अर्को विश्वविद्यालय अथवा देशको लागि एनओसी लिन नपाइने भएकाले कतिपय विद्यार्थीले लिएको एनओसी फिर्ता गरेर अर्को लिने गरेको शाखाले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अब एनओसीको शुल्क पनि बढाउने तयारी गरेको छ । हाल एउटा एनओसी जारी गरेवापत दुई हजार रुपैयाँ शुल्क तोकिएको छ ।
यो शुल्क १५ वर्षअघि तय भएको र अब बढाउने तयारी गरेको शाखाले जनाएको छ । सरकारले २०७७ साल भदौदेखि २०७९ असार २० गतेसम्म एनओसीबाट २८ करोड १५ लाख राजश्व संकलन गरेको छ ।
Visited 1 times, 1 visit(s) today