श्रीलंकामा इन्धन अभाव, अब एक दिनका लागि मात्र पुग्ने बाँकी |
कोलम्बो । श्रीलंकाका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले एक दिनका लागि मात्र इन्धनको सञ्चित रहेको बताएका छन् । उनले मुलुकमा पेट्रोल भण्डार करिब चार हजार टन मात्र रहेको र यसले एक दिनको माग पनि धान्न नसक्ने बताएका छन् । ‘पेट्रोल र डिजेल जुलाई २२ वा २३ मा मात्र आइपुग्ने अनुमान गरिएको छ,’ कोलम्बोमा आइतबार पत्रकारसँग उलने भने । नियमितबाहेकका अन्य आपूर्तिकर्तासँग सम्पर्क गरेको भए पनि जुलाई २२ अघि नयाँ आपूर्तिका लागि आश्वासन नपाएको उनको भनाइ छ ।
श्रीलंकाले पेट्रोल र डिजेल बचत गर्न गत साता अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई साताका लागि रोक्ने निर्णय गरेको थियो । श्रीलंकामा आर्थिक संकट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प भएको छ । अधिकांश पेट्रोल पम्पहरू धेरै दिनदेखि इन्धनविहिन रहँदा पेट्रोल र डिजेलको खोजीमा राजधानीका धेरै स्थानमा सर्वसाधारणको लाइन निकै लामो देखिने गरेको छ ।
गत हप्ता, नगद अभावको कारण श्रीलंकाले पेट्रोल र डिजल बचत गर्न आवश्यक सेवाबाहेक सबै क्षेत्रका लागि ईन्धन बिक्री दुई हप्ता रोक्ने घोषणा गरेको थियो । सोमबार बैंक तथा कार्यालयहरू पुनः खोलिँदा स्थिति खराब हुने अनुमानसहित देशभरका अधिकांश पेट्रोल पम्पहरू आइतबारदेखि बन्द भएका छन् ।
निजी बस सञ्चालक संगठनका अध्यक्ष गेमुनु विजेराट्नेले भने, “हामीले हाम्रा सदस्यहरूको स्वामित्वमा रहेको कूल २० हजार बसमध्ये देशभरि करिब एक हजार बसहरू सञ्चालन गरिरहेका थियौँ । भोलिको अवस्था पक्कै झनै बिग्रनेछ देखिएको छ किनकि हामीसँग डिजेल पाउने कुनै उपाय छैन ।” तत्काल कुनै समाधान नआउने देखिएकोले सोमबारदेखि सेवा थप खुम्चिँदै जाने उनले बताए ।
विदेशी मुद्राको अभावले मुलुकको सबैभन्दा खराब आर्थिक संकट व्यहोरिरहेको यस मुलुकमा अति आवश्यक समग्रीको आयातलाई समेत धान्न नसकेपछि यहाँका दुई करोड २० लाख जनताले दैनिक गम्भीर कठिनाइ भोग्दै आएका छन् । देशले गत वर्षको अन्त्यदेखि रेकर्ड गरिएको उच्च मुद्रास्फीति र लामो विद्युत ब्लाकआउटको पनि सामना गरिरहेको छ ।
सबै गैर–आवाश्यक सरकारी संस्था र विद्यालयहरूलाई जुलाई १० सम्म बन्द गर्न आदेश दिइएको छ । यसले गर्दा आवतजावतमा कमी आएको र उर्जाको माग कम बनेको भएपनि यही माग सम्बोधन गर्न नसक्दा सरकारी अधिकारीहरूले नागरिकसँग क्षमा याचना गर्दै इन्धन जोहोका लागि दौडधुप गरिरहेका स्थानीय सञ्चारमाध्यममा बताउने गरिएको छ ।
इन्धनको उच्च मागसँगै पेट्रोल पम्पहरूमा लामबद्ध मानिसहरूबीच बेलाबखत विवाद र झगडा हुनेगरेका स्थानीय सञ्चारमाध्यमहरूले बताउने गरेका छन् । अप्रिलमा देशले ५१ अर्ब डलर बाह्य ऋणमा चुक्ता गरेपछि श्रीलंका हाल सम्भावित जमानतका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्तामा छ ।
रासस–एएफपी