नबिलको दिगो बैंकिङ अभियानको एक वर्ष पूरा, वार्षिकोत्सवमा ‘नबिल ग्रीन विक’ मनाउँदै |
काठमाडौं । ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवर्धन एवम् नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका साथ २०७८ धान दिवसको दिन प्रारम्भ गरिएको ‘नबिल दिगो बैंकिङ’ले आज एक वर्ष पूरा गरेको छ।
बैंकले ‘नबिल दिगो बैंकिङ’ अन्तर्गत वित्तीय पहुँच न्यून भएका आम जनतालाई लक्षित गर्दै ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ गरी दुई किसिमका नबिन कर्जा ल्याएको छ। आफ्ना १७ दुर्गम शाखाबाट सुरू गरेको यस कर्जा अन्तर्गत २०७९ जेष्ठ मसान्तसम्म कुल ५७१ किसान तथा साना उद्यमीलाई करिब ४१ करोड कर्जा उपलब्ध गराएको र तीमध्ये करीब ६ हजार महिलाहरू रहेका बैंकले जनाएको छ।
यसैगरी ‘नबिल दिगो बैंकिङ’का उद्देश्यहरू मध्ये वातावरण र सामाजिक सरोकार र सम्मर्धन एक अत्यन्तै महत्वका साथ अगाडि बढाइरहेको उद्देश्य रहेको बैंकले उल्लेख गरेको छ। तसर्थ बैंकले व्यावसायिक संस्थाहरूलाई कर्जा प्रदान गर्ने बखत वातावरणीय र सामाजिक जोखिमहरूलाई ध्यानमा राखी ‘इएसआरएम’ गाइडलाइनहरू अन्तर्गत मात्र कर्जा प्रदान गर्ने व्यवस्था रहेको छ।
नबिल बैंकले सन् २०१८ देखिनै एक करोड रुपैयाँभन्दा बढी ऋण सुविधा लिने र कमर्सियल लिजिङ, टर्म फाइनान्स वा प्रोजेक्ट फाइनान्स मध्ये कुनै पनि सुविधा प्राप्त गर्ने ग्राहकहरूमा ‘इनभारोमेन्ट एण्ड सोसल रिस्क ड्यु डिलिजेन्स’ सञ्चालन गरिरहेको छ।
विश्वमा जलवायु परिवर्तनको बढ्दो चिन्तालाई ध्यानमा राख्दै बैंकले २०२१ मा पिसिएएफको सदस्यता लिएको र आफ्नो कर्जा पोर्टफोलियो र लगानीसँग सम्बन्धित हरितगृह ग्याँस उत्सर्जन मापन र प्रतिवेदन गर्ने पिसिएएफको अंग भइसकेको पनि बैंकले जनाएको छ।
साथै, नबिल बैंकले २०२२ मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा बौद्धनाथ स्तुपमा रहेको प्रेयर फ्ल्यागलाई बायोडिग्रेडेबल प्रेयर फ्ल्यागले प्रतिस्थापन गरी पर्यावरणमैत्री सचेतना अभियान सुरू समेत गरेको छ।
देशमा सामाजिक उद्यमशीलता विकास, प्रोत्साहन र प्रवर्द्धन गर्नका निम्ति र उद्यमीहरूको विकास र पोषण, तिनीहरूलाई असमानता र वञ्चितिकरण जस्ता सामाजिक समस्याहरू समाधन गर्न र दिगो सामाजिक कम्पनी निर्माणमा सहायता गर्ने ध्येयका साथ नबिल बैंकले २०७८, मंसिर ०१ गते नबिल स्कुल अफ सोसल अन्टरप्रेनरशिपको स्थापना गरिएको हो।
यसैगरी संस्थाभित्रै बाट दिगो अभ्यासहरूलाई आन्तरिकीकरण गर्दै नबिल बैंक दिगो भविष्यतर्फ अगाडि बढ्न बैंकले २०७८ असार १५ गतेबाट ‘नबिल स्टाफका लागि दिगो अभ्यासहरू’ योजना पनि ल्याएको कम्पनीले उल्लेख गरेको छ।
यसयोजना अन्तर्गत दिगो बैंकिङ गतिविधिहरू प्रतिको आफ्नो प्रतिबद्धतालाई थप सशक्तबनाउन नबिल बैंकले आफ्ना सबै कर्मचारीहरूको व्यक्तिगत र व्यावसायिक जीवनमा समावेश गर्न सकिने किसिमका केही दिगो अभ्यासहरू अपनाएको छ।
स्थानीय बजारमा कृषि प्राविधिकहरूलाई कृषि उद्यमीको रूपमा स्थापित गर्नका लागि 'कृषि दूत' विकास गर्ने उद्देश्यका साथ नेपालमै पहिलो पटक कृषि प्राविधिकहरूलाई कृषि ऋणको प्रावधान पनि बैंकले प्रारम्भ गरेको बताएको छ।
यसका अतिरिक्त 'नबिल दिगो बैंकिङ'को वार्षिकोत्सव र राष्ट्रिय धान दिवसको अवसरमा नबिल बैंकले एक हप्ता लामो नबिल ग्रीन विक आषाढ १५ बाट सुरू गर्न लागेको बैंकले जानकारी दिएको छ।