पप्पु कन्स्ट्रक्सन पर्यो कालो सूचीमा | कुनै पनि सार्वजनिक खरिदमा सहभागी नगराउन सार्वजनिक सूचना
काठमाडौं । पटक–पटक चर्चामा आएको पप्पु कन्स्ट्रक्सनलाई सरकारले सम्पूर्ण टेण्डर प्रक्रियामा रोक लगाएको छ । ठेक्का सम्झौताअनुसार समयमै काम नसकेको भन्दै कोस्टाल पप्पु जेभीलाई कालो सूचीमा राख्न सिक्टा सिंचाइ आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिश गरेपछि कार्यालयले त्यस्तो रोक लगाएको हो ।
आज कार्यालयले जारी गरेको सूचनामा सिक्टा आयोजनाले गरेको उजुरी अध्ययन गर्दा पप्पु कन्स्ट्रक्सनलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानिनोक्सानी पर्न सक्ने देखिएको हुँदा कालो सूचीसम्बन्धी कारबाही टुंगो नलागेसम्मका लागि कुनै पनि टेण्डर प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाइएको उल्लेख छ ।
यस्तै पप्पुलाई ठेक्का प्रक्रियामा सहभागी गराउँदा विकासमा बाधा अवरोध सिर्जना हुने र त्यसबाट सर्वसाधारण जनताको जीवनस्तरमा समेत नराम्रो असर पर्ने सम्भावना देखिएको सूचनामा उल्लेख छ । कालो सूचीबाट नहटेसम्म पप्पुलाई कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी नगराउन पनि कार्यालयले आग्रह गरेको छ । नहर निर्माणको काम समयमै नसकेको भन्दै सिक्टा आयोजनाले २९ कात्तिकमा निर्माण कम्पनी कोस्टाल पप्पु जेभीसँगको ठेक्का सम्झौता तोड्दै कालो सूचीमा राखेको थियो ।
उक्त कन्स्ट्रक्सनले सन् २०१६ को जून २० मा उक्त आयोजनाको २३ किलोमिटरको डुडुवा शाखा नहर निर्माण गर्ने जिम्मा पाएको थियो । तर, ठेक्का सम्झौता अवधि सकिँदासमेत उक्त कम्पनीले जम्मा ७ प्रतिशत मात्र काम गरेको आयोजनाको आरोप छ । यसअघि पप्पु कन्स्ट्रक्सनका विरुद्धमा कोही कसैबाट निवेदन नआएकाले उक्त कन्स्ट्रक्सनलाई कालो सूचीमा राख्न नसकिएको कार्यालयले बताउँदै आएको थियो ।
ठेक्का लिएर वर्षौं बितिसक्दा पनि काम नसक्ने आरोप लागेर चर्चा कमाएको उक्त निर्माण कम्पनीको सञ्चालक हरिनारायण प्रसाद रौनियार हुन् । उनी संघीय समाजवादी फोरमका सांसद भएपछि उनकै छोराले उक्त कम्पनी सञ्चालनको जिम्मा लिएका छन् ।