पुँजी बजार सुधार कार्यदल र लगानीकर्ताका संगठनहरुबीच छलफल |
काठमाडौं । अर्थ मन्त्रालयले गठन गरेको पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या अध्ययन गर्न गठित कार्यदलले लगानीकर्ता संगठनका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरेको छ। बुधबार अर्थ मन्त्रालयमा भएको छलफलमा लगानीकर्ताका ३ वटा संगठनले पुँजी बजार सुधारका विभिन्न १८ बुँदे सुझाव दिएका छन् । लगानीकर्ताका विभिन्न संगठनहरुले पुँजी बजारमा देखिएका समस्या तत्काल समाधान तथा कार्यान्वयन गराउन भन्दै १८ बुँदासहितको सुझाव समितिसमक्ष पेश गरेका हुन्।
कार्यक्रममा अर्थ मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्ड लगायत निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। सुझाव समितिसँगको छलफलमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल र नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल सहभागी थिए ।
लगानीकर्ताका ३ वटा संगठनले नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा ल्याएको ४–१२ करोड क्यापको नीति तत्काल खारेज गरिनुपर्ने, भारित औषतदर १०० प्रतिशत नै कायम गरिनुपर्ने, ब्रोकर कमिसन घटाउनुपर्ने तथा डीपी चार्ज ५ रुपैयाँ कायम गरिनुपर्ने लगायतका सुझावहरु दिएका छन्।