नेपालमा पहिलोपल्ट हेभी इक्विपमेण्टको प्रदर्शनी हुँदै |
काठमाडौं । नेपालमै पहिलो पटक निर्माण उपकरणहरूको बृहत् प्रदर्शनी हुने भएको छ । कनम्याकको आयोजनामा यही मंसिर ६ देखि ८ गतेसम्म भक्तपुरको सल्लाघारी चौरमा उक्त प्रदर्शनी हुने भएको हो ।
भारतीय उद्योग परिसंघले आयोजना गरेको प्रदर्शनीमा हेबी इक्विपमेन्टका उपकरणहरू प्रदर्शनीमा राखिने आयोजकले बताएका छन् । आयोजक विष्णुकुमार अग्रवालले भने, ‘नेपालमा हेबी इक्विप्मेन्टका सामानहरू पहिलो पटक एकै ठाउँमा प्रदर्शनीमा राख्न लागेका छौ ।’ साथै, एकै ठाउँमा सबै हेबी इक्विप्मेन्ट उपकरण उपलब्धताले नेपालको विकासमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ ।
भारत सरकारको सहभागितामा आयोजना हुने सीआईआई कन्म्याक २०१८ नेपालको पुर्वाधार क्षेत्रको तिव्र विकासकालागि ठूलो अवसर हुनेछ । यस्तो प्रकारको प्रदर्शनीलाई विश्वस्तरको निर्माण उपकरण सामाग्रिहरु एकै स्थानमा प्रदर्शीत गर्ने एउटा वलियो प्लेटफर्मको रुपमा लिइएको छ । नेपालले कुशल जनशक्तिको ठूलो कमी सामना गरिरहेको अवस्थामा यो प्रदर्शनीले निर्माण ब्यवसायीलाई हाल अन्तरराष्ट्रियस्तरमा उपलब्ध उत्कृष्ट उपकरण तथा प्रविधिको जानकारी दिई सहयोग पुर्याउने र निर्माण क्षेत्रको क्षमतामा अभिवृद्धि गर्ने उद्धेश्य लिएको छ ।
उक्त प्रदर्शनीमा अनुमानित ६ हजार व्यावसायिक अवलोकनकर्ताहरू अवलोकन गर्न आउने कनम्याकले जनाएको छ । प्रदर्शनीमा १ सय ५० अतिरिक्त प्रदर्शक रहनेछन् । प्रदर्शनीको प्रायोजकमा हुण्डाइ कन्स्ट्रक्सन इक्विपमेन्ट भारत, जेसीबी, केवाइबी कनम्याट र पुज्जोलाना रहेका छन् ।