विदेश अध्ययनको लागि मात्रै ५१ अर्ब ३३ करोड बाहिरियो |
काठमाडाैं । नेपालीले विदेशमा घुमघाम र अध्ययनमा गर्ने खर्च बढेकोे छ । कोभिडको संक्रमण कम हुँदै गएपछि यस्तो खर्च पुनः पुरानै रफ्तारमा बढ्न थालेको हो । आव २०७६।७७ मा २५ अर्ब ८१ करोड र २०७७।७८ मा २४ अर्ब ९५ करोड रुपियाँ खर्च भएकोमा चालु आवको १० महिनामै ५१ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक अध्ययनका लागि खर्च भइसकेको छ ।
कोभिड संक्रमणको बेला सरकारले गरेको लकडाउनयता हरेक महिना अध्ययनका लागि नेपालबाट बाहिरिने रकम घटेको थियो भने नेपालीले भ्रमणका लागि विदेशमा गर्ने खर्च पनि घटेको थियो । लकडाउन खुलेर अर्थतन्त्र चलायमान भएसँगै नेपाली विदेश भ्रमणमा समेत थुप्रै रकम विदेशिन थालेको छ । चालु आवको बैशाखमसान्तसम्म विदेश भ्रमण शीर्षकमा नेपालबाट ७२ अर्ब ७ करोड ६३ लाख रुपैयाँ खर्च भएको छ । आव २०७६।७७ मा नेपालबाट विदेश भ्रमणका लागि ५३ अर्ब १३ करोड खर्च गरेकोमा सो रकम आव २०७७।७८ मा विदेश भ्रमणमा जाने रकम घटेर ३२ अर्ब ८० करोड रुपियाँमा सीमित भएको थियो।
राष्ट्र बैंकका अनुसार गत आवको बैशाखसम्म वैदेशिक अध्ययनका लागि नेपालीले २२ अर्ब ६४ करोड रुपैयाँ खर्चेका थिए । चालु आवको बैशाखसम्म यो रकम बढेर ५१ अर्ब ३३ करोड रुपियाँ पुगेको छ । विश्वव्यापी कोभिड संक्रमणका कारण वैदेशिक अध्ययनका लागि रोकिएका विद्यार्थीहरु पुनः विदेश जाने प्रक्रियामा वृद्धि भएपछि वैदेशिक अध्ययनका लागि नेपालको बढी रकम खर्च भएको हो ।
कोभिड संक्रमणको बीचमा केही वर्ष बाहेक अध्ययन र भ्रमणका नाममा देशबाट ठूलो रकम बाहिरिँदै आएको छ । पछिल्लो समय विदेश भ्रमणमा जाने रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा भ्रमणमा १४३.४ प्रतिशत र वैदेशिक अध्ययनमा जाने रकममा १२६.७ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।
कोभिड संक्रमणको प्रभाव घट्दै गएपछि नेपालमा पर्यटकीय गतिविधि पनि विस्तारै बढ्दै गएको देखिएको छ । चालु आवको बैशाख मसान्तसम्म पर्यटकीय गतिविधिबाट नेपालमा २२ अर्ब ४५ करोड १७ लाख रुपियाँ भित्रिएको छ । यो रकम गत आव २०७७।७८ मा ७ अर्ब २६ करोड ६३ लाख रुपियाँ मात्रै थियो । आव २०७६।७७ मा भने नेपालले पर्यटकीय गतिविधिबाट ६० अर्ब ८८ करोड ५४ लाख रुपियाँ आम्दानी गरेको थियो ।
शिक्षामा हरेक वर्ष ठूलो रकम बाहिरिन थालेपछि लकडाउनअघि नै सरकारले विदेशमा अध्ययनका लागि कडाइ गर्ने कि भन्ने विषयमा नीति निर्माण तहमासमेत छलफल हुन थालेको छ । अध्ययनको लागि धेरै रकम बाहिरिन थालेपछि अर्थविद् डा. अच्युत वाग्लेले ट्वीटरमा लेख्दै आँउदो मौद्रिक नीतिमार्फत विदेशमा पढ्नको लागि नेपाली बैंकहरुबाट एजुकेसन लोन दिन बन्द गर्न आह्वान गरे । पछिल्ला वर्षमा भारत, अमेरिका, क्यानाडा, अस्ट्रेलिया, जापानलगायत देशमा पढ्न जाने विद्यार्थीको संख्यामा वृद्धि भइरहेको छ ।