डिजिटल नेपालका लागि विश्व बैंकबाट १४ करोड डलर ऋण सहायता अनुमोदन |
काठमाडौं । विश्व बैंकले डिजिटल नेपाल परियोजनाका लागि १४ करोड अमेरिकी डलर बराबर ऋण सहायता अनुमोदन गरेको छ । यसले ब्रोडब्याण्डमा पहुँच विस्तार गर्न र डिजिटल अर्थतन्त्रमा थप जनसंख्यालाई संलग्न गराउनका मद्दत गर्ने विश्व बैंकले जनाएको छ । विश्व बैंकका अनुसार यसमार्फत नेपालको डिजिटल रुपान्तरणमा १० लाख मानिसहरु ब्रोडब्यान्डमा जोडिने छन् ।
यस परियोजनाले नेपाल सरकारले सन् २०१९ मा ल्याएको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सहयोग गर्नेछ । परियोजनाले विशेषगरी ग्रामीण क्षेत्रका मानिस र व्यवसायहरुलाई उच्च गुणस्तरीय ब्रोडब्यान्ड सेवाहरुमा सहज पहुँचका लागि सहयोग पुर्याउने विश्व बैंकले जनाएको छ । परियोजनाले डिजिटल सीप विकास तालिममार्फत करिब १ हजार ५०० जनालाई रोजगारीको अवसर सिर्जना गर्ने पनि विश्व बैंकको भनाई छ ।