बजेटका नयाँ प्रावधानले सेनिटरी प्याड, घिउतेल र वायर उद्योग बन्द हुने पूर्वका उद्योगीको भनाई |
विराटनगर । पूर्वका उद्योगी व्यवसायीले संघीय सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत कतिपय क्षेत्रमा गरिएका अन्तःशुल्क वृद्धिका कारण औद्योगिक क्षेत्र प्रभावित भएको भन्दै संशोधनको माग गरेका छन् । खासगरी, सेनेटरी प्याड उद्योग, स्टिल तथा वायर उद्योग, वनस्पति घिउ तथा खाने तेलसँग सम्बन्धित उद्योग प्रभावित बनेको उद्योगीको भनाइ छ ।
बुधबार विराटनगरमा मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ प्रदेश नम्बर एक र उद्योग संगठनले पत्रकार सम्मेलन गरी बजेटमार्फत आएका कतिपय प्रावधानले उद्योग क्षेत्र भ्रममा परेको जनाएका हुन् ।
संगठनका अध्यक्ष सुयस प्याकुरेलले सरकारले बजेटमा भन्सार महशुल, अन्तःशुल्कमा बृद्धि गर्दा सेनेटरी प्याड उद्योग, स्टिल तथा वायर उद्योग, वनस्पति घिउ तथा तेलका उद्योग बढी प्रभावित भएको बताए । भने, “स्टिल उद्योगमा सरकारले भन्सार महसुल ५ देखि १० प्रतिशत पुर्याएको छ । स्टिल तथा वायरमा भन्सार शुल्क वृद्धि हुँदा उद्योगी प्रभावित भएका छन् । अन्तःशुल्कमा २ हजार ५ सयदेखि ४ हजार ५ सय प्रतिटन कायम गरिएको र यसले उद्योग सञ्चालनमा समस्या हुने प्याकुरेलले बताए ।
त्यसैगरी, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बजेटले स्टिल वायर, घिउतेल तथा सेनेटेरी प्याडको उद्योग प्रभावित भएको बताउँदै भने, “वनस्पति घिउ तथा तेलको कच्चापदार्थमा १० देखि १५ प्रतिशत महसुल लाग्दै आएको छ । सरकारको अहिलेको निर्णयले वनस्पति घिउतेलका उद्योगहरू मर्कामा परेका छन् । कालान्तरमा उद्योग नै बन्द गर्नुपर्ने हुन्छ ।” सरकारको अहिलेको बजेटले परनिर्भरतालाई प्रश्रय दिने देखिएको भन्दै उनले कच्चा पदार्थ तथा उत्पादित वस्तुबीचको एक तहको भन्सार महशुल कायम राख्नुपर्ने जिकिर गरे ।
नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले सरकारको बजेटले उद्योगी ब्यवसायी निरास भएको चर्चा गर्दै सेनेटरी प्याड उत्पादन गर्ने उद्योगलाई समस्या परेको सुनाए । “बजेटले सेनेटरी प्याड आयातमा भन्सार महशुल १५ प्रतिशतमा ९० प्रतिशत घटाएर १ दशमलव ५ प्रतिशत कायम हुदाँ स्वदेशी उद्योग धरासायी हुने देखिन्छ ।
सेनेटरी प्याडबारे सरकारको अहिलेको रणनीतिले मुलुकमा कच्चापदार्थ भित्र्याएर उद्योग स्थापना गर्नुभन्दा आयात गरी बिक्री वितरण गर्न सहज हुन्छ ।” उद्योग सञ्चालन गर्नुभन्दा आयातमुखी भएर व्यापार व्यवसाय गर्न मात्र सहज हुने उनले जिकिर गरे । कार्यक्रममा दिइएको जानकारीअनुसार हाल ३५ देखि ४० वटा सेनेटेरी प्याड उत्पादन उद्योगमा ६ अर्बभन्दा धेरै लगानी छ । ती उद्योगमा ६ हजारभन्दा धेरैले रोजगारी पाएका छन् ।