उद्योग वाणिज्य महासंघका पूर्वमहासचिव स्व. माधवमणिको स्मरणमा शोकसभा |
काठमाडौं । उद्योग वाणिज्य महासंघले पूर्व केन्द्रीय महासचिव स्वर्गीय माधवमणिको सम्झनामा भर्चुअल माध्यमबाट शोकसभा गरि शोक प्रस्ताव पारित गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वमहासचिव माधवमणि राजभण्डारीको लामो समयदेखि मृगौलाको रोगबाट पिडित भएर स्वास्थ्य उपचार लिइरहेकोमा गत जेठ १२ गते बिहीबारका दिन असामयिक निधन भएको थियो । यो अप्रत्यासित खबरबाट उद्योग वाणिज्य संग सम्वद्ध निजी क्षेत्र मर्माहत भएका छन् ।
विक्रम सम्बत २०३२–३४ मा कार्यकारिणी समिति सदस्य र २०३५–४१ को कार्यकालमा उनी केन्द्रीय महासचिव पदमा निर्वाचित भएका थिए । आफ्नो कार्यकालमा महासंघको संस्थागत विकासमा महत्वपूर्ण भूमिका निभाएका थिए । तत्कालीन अवस्थामा त्यति उद्योग व्यवसाय फस्टाएको थिएन तैपनि उद्योग व्यवसायको विकासमा के गर्न सकिन्छ भनेर त्यसवेलाको टिममा स्वर्गीय राजभण्डारी सधै सक्रिय भएर लागेको सुन्न पाइन्छ ।
महासंघको सचिवालयको सुदृढीकरणमा पनि उनले आफ्नो कार्यकालमा निकै मेहनत गरेको महासंघका त्यसका बेलाका दस्तावेजहरूमा उल्लेख गरिएको पाइन्छ । समकालीन अन्तर्राष्ट्रिय व्यावसायिक संघ–संस्थाहरूसँग महासंघको संस्थागत सहकार्यको थालनी गर्नमा उनको ठूलो योगदान रहेको थियो ।
तत्काल निर्णय गर्न सक्ने क्षमताका साथै निजी क्षेत्रमा स्पष्ट वक्ताको रुपमा परिचित स्वर्गीय राजभण्डारी महासंघको प्रतिनिधित्व गरी विभिन्न देशहरूमा भएका व्यापारिक भ्रमणमा नेपालको आर्थिक औद्योगिक, व्यावसायिक, श्रम, व्यापारका विषयहरूमा सशक्त एवं बलियो आवाज राख्ने व्यक्तित्वको रुपमा परिचित थिए ।
देशको अर्थतन्त्र बलियो भए मात्र विकास सम्भव छ भन्ने मान्यता राख्ने पूर्वमहासचिव स्वर्गीय राजभण्डारीले आफ्नो कार्यकालमा निर्वाह गरेको महत्वपूर्ण भूमिका, योगदानका साथै देशको उद्योग व्यवसाय विस्तारमा निभाएको भूमिकालाई सम्पूर्ण निजी क्षेत्रले निरन्तर स्मरण गरिरहने छ ।
विभिन्न सामाजिक एवं शैक्षिक संघ संस्था, गुठी, शैक्षिक प्रतिष्ठानमा रहेर स्वर्गीय राजभण्डारीले उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्य, सामाजिक, सामुदायिक, कला र पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिएको पाइन्छ । पर्यटन व्यवसाय र राजनीतिमा पनि उनी निकै सक्रिय थिए । उनको जन्म दोलखा जिल्लामा शैक्षिक र धार्मिक संघ–संस्थामार्फत उनले निकै धेरै परोपकारी कामहरू पनि गरेका थिए । उनले पच्चीस बसन्त नाम गरेको चलचित्रको निर्माता गरेका थिए भने आधुनिक गित पनि रचना गरेका थिए ।
स्वर्गीय राजभण्डारीका श्रीमती, तीन छोरी र एक छोरा छन् । दुःखको यस घडीमा महासंघ परिवार, सोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा भएकोे शोकसभामा महासंघका अन्य पदाधिकारी, कार्यकारिणी समितिका सदस्यहरू, उद्यमी व्यवसायीहरू, स्वर्गीय राजभण्डारीका सुुपुत्र नितिन राजभण्डारी, महासंघ सचिवालयका महानिर्देशक सहित कर्मचारीहरूको उपस्थिति थियो ।
Visited 1 times, 1 visit(s) today