बेडरूम कसरी सजाउने ? |
घरमा सबैभन्दा धेरै समय बिताइने स्थान हो बेडरूम । विशेषगरी जोडीको बेडरूम रोमाण्टिक र आकर्षक हुनु आवश्यक छ । साधारणतया बेडरूममा भन्दा बैठक कोठाको सजावटमा बढी जोड दिने गरिन्छ । अरूको सेवा र आरामका लागि बैठकमा ध्यान दिएजस्तै बेडरूमलाई पनि सजाउन सकिन्छ । बेडरूमको सजावटमा ध्यान दिँदा मन तथा मस्तिष्कलाई पनि स्फूर्ति मिल्छ । रोमाण्टिक बेडरूमले पतिपत्नीको सम्बन्धमा गाढापन ल्याउन पनि सघाउँछ । बेडरूम सजाएर रोमाण्टिक बनाउने उपाय समेटेर अरुणा कार्कीले तयार पारेको रिपोर्ट
१. निजी स्पेशल
साधारण खालको बेडरूमलाई पनि सजावटले मायाले भरिएको र रोमाण्टिक गुफाजस्तो बनाउन सकिन्छ । त्यसरी बेडरूम आफ्नो स्पेशल सजाउँदा थकान हटाई रोमान्स, आराम र प्रेमिल वातावरण कायम गर्न सकिन्छ ।
२. ठूला गद्दाको प्रयोग
बेडरूम खासगरी आनन्द र रोमान्सका लागि बसिने स्थान भएको आरमदायी हुन जरुरी छ । आफ्नो जोडी वा साथीहरूसँग लामो समयसम्म सहज रूपमा आराम गर्न ठूला गद्दाको प्रयोग उपयुक्त हुन्छ । जस्तोसुकै बेड भए पनि आराम हुने खालको गद्दाको प्रयोग गर्दा त्यसले रोमान्समा थप रौनक थप्छ ।
३. बेडहेडको सजावट
सफा र राम्रो खालको बेडहेडले पनि बेडरूम आर्कषक बनाउन सहयोग पु¥याउँछ । बेडहेडमा विभिन्न खालका आकर्षक चित्र, बुट्टा र फ्रेम प्रयोग गर्दा त्यसले पार्टनरलाई स्फूर्ति प्रदान गरेर रोमाण्टिक हुन सघाउँछ ।
४. आरामदायी सजावट
बेडरूममा प्रयोग गरिएको फर्निचरमा आरामदायी पेण्टिङ गरेर पनि रोमाण्टिक बनाउन सकिन्छ । यस्तो पेण्टिङले विवाहित जोडीलाई एकअर्काबीच खुल्नसमेत उत्साह बढाउँछ ।
५. आरामदायी कुर्सी
बेडरूममा बाहिरको दृश्य देखिने झ्यालनजिक सजिलो खालको बस्ने कुर्सी राखेर पनि रोमाण्टिक बनाउन सकिन्छ । त्यसमा बसेर बाहिरकै दृश्यसँग आरामले रमाउन तथा पुस्तक पढ्न सकिन्छ ।
६. एक टेबल र दुई कुर्सी
कहिलेकाहीँ परिवारका अन्य सदस्यसँग बसेर भन्दा छुट्टै बस्न पनि बेडरूममा एक टेबल र दुई कुर्सी राख्दा रोमाञ्चक डिनर गर्न सकिन्छ । यस्तो फर्निचरको व्यवस्थाले कम समय भएका बेला एकअर्कासँग बसेर चिया पनि खान पनि सकिन्छ ।
७. डेसिङ टेबल
राम्रो सजावटको क्रिष्टल अथवा अन्य सामग्रीबाट बनेको टेबल पनि रोमान्स बढाउन सहयोगी हुन्छ । यसमा पार्टनरलाई आवश्यक पर्ने सामान राख्न सकिन्छ ।
८. लाइट्स
विभिन्न आकार–प्रकारको लाइटको प्रयोगले पनि कोठालाई रोमाण्टिक लूक्स दिन सकिन्छ । चम्कने खालको लाइट तथा क्याण्डल्सले पनि रोमान्सका लागि मूड राम्रो बनाउन सघाउँछ । यसले मन आनन्दित पार्नुका साथै आरामको महसूससमेत गराउँछ ।
९. आर्ट ग्यालरी
आर्ट ग्यालरी बनाएर अथवा प्रेम दर्शाउने खालका फोटो कोठामा राखेर पनि कोठालाई रोमाण्टिक बनाउन सकिन्छ ।
१०. आकर्षक रङरोगन
फुशिया, गाढा रातो, हरियो, नीलो र बैजनीजस्ता रङको प्रयोगले बेडरूम आकर्षक बनाउन सकिन्छ । साथै, हल्का र गाढा रङको मिश्रणले पनि कोठाको सौन्दर्य बढाउँछ ।
११. स्टडी रूमको व्यवस्था
बेडरूममा एउटा स्टडी रूमको व्यवस्थाले पनि आकर्षक बनाउन सहयोग गर्छ । त्यसका लागि राइटिङ टेबल, आरामदायी कुर्सी आदि राख्न सकिन्छ । बेडरूममा यस्तो खालको व्यवस्था गर्दा कुनै दुनियाँमा बसेर आफ्नो पार्टनरसँग पढ्न र मनका केही कुरा लेख्न सजिलो हुन्छ । प्रेमसम्बन्धी लेखिएका साहित्यले मन रोमाण्टिक बनाउँछ ।
१२. मिनी बार
मिनीबारमा श्याम्पेन र वाइन राख्न सानो खालको फ्रिजको व्यवस्था गर्नुहोस् । यसले पनि बेडरूम रोमाण्टिक बनाउन सकिन्छ ।
१३. टीभी
बैठक कोठामा टीभीको व्यवस्था भएमा मन लागेको कार्यक्रम हेर्न सकिन्छ । बेडरूममा रोमाण्टिक लूक्स ल्याउनसमेत टीभी उपयोगी हुन्छ ।
१४. बिरुवाको प्रयोग
बेडरूममा आकर्षक सजावटका बिरुवा राख्न सकिन्छ । त्यसको बास्नाले मनलाई ताजापन दिनका साथै मूड पनि राम्रो बनाउँछ । यसलाई आकर्षक लाइटको साथ प्रयोग गर्दा झनै उत्कृष्ट देखिन्छ र रोमाण्टिक वातावरण सृजना हुन्छ ।
१५. ऐना
बेडरूममा ऐनाको प्रयोग अनिवार्य हुन्छ । यसको प्रयोग ड्रेसिङ टेबलको माथि वा साइड टेबलमा गर्न सकिन्छ । ऐनालाई क्याण्डल तथा अन्य खालको मधुरो बत्ती बाल्दा देखिने ठाउँमा राख्नु पनि उपयुक्त हुन्छ ।
१६. सुन्दर दराज
महँगा तथा अत्यावश्यक सामान राख्न दराजको प्रयोग गरिन्छ । आकर्षक दराजले बेडरूममा सौन्दर्य पनि बढाउँछ । त्यसमा मोबाइल फेन, चार्जर, स्टेशनरी सामान, गहना आदि सुरक्षित राख्न सकिन्छ । यसरी नवविवाहित जोडीका लागि आकर्षक र रोमाण्टिक तरीकाले बेडरूम सजाउन सकिन्छ । बेडरूमको सजावट सम्बन्धित जोडीको रुचिअनुसार पनि गर्न सकिन्छ ।