भारतविरुद्ध डब्लूटीओमा मुद्दा हाल्ने अस्ट्रेलियाको घोषणा | भारतले अनुदान दिँदा विश्व बजारमै चिनीको मूल्यमा अस्थिरता आएको आरोप

सिड्नी । अस्ट्रेलियाले भारतले उपलब्ध गराएको अनुदानका कारण विश्वमै चिनीको मूल्यमा कमी आएको आरोप लगाउँदै उसका विरुद्धमा विश्व व्यापार संगठन (डब्लूटीओ) मा मुद्दा हाल्ने घोषणा गरेको छ । भारतले अनुदान दिनाले विश्वमा चिनीको मूल्यमा अस्थिरता आएको र स्वदेशी चिनी उत्पादकहरूलाई हानि पुर्याएको अस्ट्रेलियाको दाबी छ ।
भारतले आफ्ना उखु कृषकहरूलाई अनुदान दिने गरेको छ । विश्वमा सबैभन्दा बढी चिनी उत्पादन गर्ने दोस्रो राष्ट्र भारतमा थतवर्ष सबैभन्दा धेरै उखु उत्पादन भएको थियो । ‘हामी हाम्रो चिनी उद्योगको अधिकारका पक्षमा छौं र कृषकको सर्वोत्तम हितका लागि कार्य गर्नेगरी डब्लूटीओका नियमहरू सबैले पालना गर्नुपर्दछ,’ व्यापार मन्त्री सिमोन बर्मिङ्घामले भने ।
विश्वमा सबैभन्दा बढी चिनी उत्तपादन गर्ने तेस्रो राष्ट्रमा अस्ट्रेलिया पर्दछ । व्यापार मन्त्री सिमोनले उखुको अनुदानका बारेमा भारतका वरिष्ठ अधिकारीहरूसँग चासो राखेको तर भारतले अस्ट्रेलियाको चासोमाथि कुनै ध्यान नदिएको आरोप लगाए । अस्ट्रेलियाले भारत र विश्व व्यापार संगठनसँग आवद्ध सदस्य राष्ट्रहरूसँग औपचारिक छलफल गर्ने योजना बनाएको छ । डब्लूटीओले गर्ने कारबाहीलाई अरु राष्ट्रले पनि समर्थन गर्ने मन्त्री सिमोनले बताएका छन् ।
अस्ट्रेलियाको २ अर्ब अस्ट्रेलियाली डलरको चिनी उद्योग छ । यस व्यवसायमा ४ हजार उखु कृषक र २४ वटा चिनी मिल छन् । अस्ट्रेलियाली उत्पादकहरूका अनुसार भारतले उपलब्ध गराएको अनुदानका कारण आफ्नो उद्योगले घाटा व्यहोरेका छन् ।