आजबाट माइक्रोबसका चालक र सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य | केही समयपछि ठूला सवारीका चालक र सहचालकलाई पनि ज्याकेट अनिवार्य गरिने

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा सञ्चालन हुने माइक्रो बसका चालक र सहचालकले फ्लोरेसेन्ट ज्याकेट अनिवार्य रूपमा लगाउनुपर्ने नियम ल्याएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज बसेको सरोकारवालाहरूको संयुक्त बैठकले मंसिर १ गतेदेखि अनिवार्य रूपमा माइक्रोबस चालक र सहचालकले फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो ।
बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र माइक्रोबस व्यवसायी संघका प्रतिनिधिहरू सहभागी थिए । महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तका अनुसार चालकलाई सुन्तला रङको र सहचालकलाई हरियो रङको ज्याकेट अनिवार्य लगाउनुपर्ने नियम ल्याइएको छ । हाललाई काठमाडौं उपत्यकाभित्र मात्र लागू गरिएको यो नियम आगामी दिनमा देशभर लागू गर्ने ट्राफिक महाशाखाको तयारी छ ।
महाशाखाका तत्कालीन प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालको पालामा फ्लोरेसेन्ट ज्याकेट लगाउने नियम बनाइए पनि कार्यान्वयन हुन सकेको थिएन । महासंघका महासचिव सरोज सिटौलाले फ्लोरेसेन्ट ज्याकेटले चालकको पहिचान हुने, रातिको समयमा टाढैबाट चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने भएकाले यस्तो निर्णय गरिएको बताए ।
केही समयअगाडिदेखि नै ट्याक्सी चालकहरूलाई पनि फ्लोरेसेन्ट ज्याकेट लगाउन अनिवार्य गरिएको छ । आगामी दिनमा ठूला सवारीसाधनका चालक तथा सहचालकलाई समेत क्रमशः ज्याकेट लगाउने व्यवस्था गर्ने महासचिव सिटौलाको भनाइ छ ।