बोर्डद्वारा यस वर्षका लागि कच्चा कफीको मूल्य निर्धारण | आन्तरिक बजारमा खपत बढ्नाले निर्यात घटेको बोर्डको ठहर
काठमाडौं । सरकारले यस वर्षका लागि कच्चा कफीको मूल्य निर्धारण गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आजदेखि लागू हुने गरी यो वर्षका लागि कच्चा कफीको मूल्य निर्धारण गरेको हो ।
बोर्डले निर्धारण गरेको यस वर्षको मूल्यअनुसार ए ग्रेडको फ्रेस चेरी कफीको मूल्य प्रतिकिलो ८५ रुपैयाँ र बी ग्रेडको फ्रेस चेरी कफीको मूल्य प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ । ए ग्रेडको फ्रेस चेरी कफी अग्र्यानिक प्रमाणित हो भने बी ग्रेडको अग्र्यानिक प्रमाणित होइन । गत वर्ष ए ग्रेडको फ्रेस चेरी कफीको मूल्य प्रतिकिलो ८३ र बी ग्रेडको फ्रेस चेरीको ७८ रुपैयाँ प्रतिकिलो थियो ।
ए ग्रेडको पार्चमेन्ट कफीको मूल्यमा गतवर्षभन्दा १० रुपैयाँले वृद्धि भएको छ । अग्र्यानिक प्रमाणित नभएको यसको मूल्य गतवर्ष ४ सय १५ रुपैयाँ प्रतिकिलो रहेकोमा १० रुपैयाँ वृद्धि गरी प्रतिकिलो ४ सय २५ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, बी ग्रेडको पार्चमेन्टमा पनि १० रुपैयाँ बढाएर प्रतिकिलो ४ सय १० रुपैयाँ निर्धारण गरिएको छ । सरकारले २०७१ सालयता पार्चमेन्ट कफीको मूल्य बढाएको थिएन । तीनवटै ग्रेडको ड्राइ चेरीको मूल्यमा हेरफेर भएको छैन । २०७२ सालयता ए ग्रेडको ड्राइ चेरी कफीको मूल्य प्रतिकिलो १ सय ४०, बी ग्रेडको १ सय र सी ग्रेडको ४० रुपैयाँ प्रतिकिलो छ । बोर्डले मंसिर १ लाई राष्ट्रिय कफी दिवसका रूपमा मनाउँदै छ ।
उत्पादनमा वृद्धि
गतवर्षको तुलनामा नेपालमा कफी उत्पादन १० प्रतिशतले बढेको छ । गतवर्ष मुलुकभर ४ सय ६६ मेट्रिक टन कफी उत्पादन भएकोमा यस पटक बढेर ५ सय १३ मेट्रिक टन पुगेको तथ्याकंले देखाएको छ । विभिन्न जिल्लामा बोर्ड तथा तत्कालीन जिल्ला कृषि विकास कार्यालयहरू र गैह्रसरकारी संस्थाहरूबाट सञ्चालन भएका कफी विस्तार कार्यक्रमको प्रभावका कारण खेती बढेकाले उत्पादनमा पनि वृद्धि भएको बोर्डको ठहर छ ।
हाल मुलुकभर २ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा कफी खेती भइरहेको बोर्डले जानकारी दिएको छ । पछिल्लो ४ वर्षदेखि कफी विस्तार कार्यक्रमले व्यापकता पाएको छ ।
निर्यात घट्यो, आयात बढ्यो
भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार कफीको आयात करिब ६४ प्रतिशतले बढेको छ भने निर्यात करिब ११ प्रतिशतले घटेको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७४७५ मा ६ करोड ५८ लाख ९१ हजार मूल्यबराबरको १ सय ६३ दशमलब ३८ मेट्रिक टन कफी आयात भएको छ । तर, गत आर्थिक वर्षमा ९ करोड ३७ लाख २५ हजार मूल्यबराबरको ८४ दशमलव २२ मेट्रिक टन मात्रै स्वदेशी कफी निर्यात भएको छ ।
उत्पादन बढे पनि कफीको खपत आन्तरिक बजारमै बढ्न थालेकाले स्वदेशी कफीको निर्यात घटेको बोर्डको अनुमान छ । बोर्डका अनुसार मुलुकभर क्याफे हाउसहरूको विस्तारले स्वदेशी कफीको माग र लोकप्रियता बढेको छ । तर, उत्पादन अझै बढाएर निर्यात पनि बढाउनुपर्ने बोर्डले बताएको छ ।
युरोपियन युनियनको सहयोगमा बोर्डले गरेको ‘जिओग्राफिकल इण्डिकेटर सिष्टम’ मा आधारित अध्ययनअनुसार मुलुकभर करिब ११ लाख ९८ हजार ५ सय ३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिए पनि हालसम्म जम्मा ४ प्रतिशत क्षेत्रफलमा मात्र कफी खेती भइरहेको बोर्डले बताएको छ ।