नेपालको निजी क्षेत्रमा ९० अर्ब रुपैयाँ लगानी गर्ने आईएफसीको घोषणा |
काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा निजी क्षेत्रमार्फत ८० करोड अमेरिकी डलर (करिब ९० अर्ब रुपैयाँ) लगानी गर्ने भएको छ । विश्व बैंकले शुक्रबार आयोजना गरेको कन्ट्री प्राईभेट सेक्टर डाएग्नोस्टिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल, भुटान, बंगलादेशकी क्षेत्रिय निर्देशक वेन्डी वेर्नरले नेपाली रुपैयाँ करिव ९० अर्ब बराबरको लगानी निजी क्षेत्रमा गर्ने बताएकी हुन ।
निजी क्षेत्रमार्फत नेपालको दीगो आर्थिक विकासमा सहयोग गर्न आइएफसीले आफ्नो लगानी उल्लेख्य बढाउने घोषणा गरेको हो । अहिलेसम्म नेपालमा करिब १५ अर्ब रुपैयाँ लगानी गरेको आइएफसीले आफ्नो लगानीमा वृद्धि गर्ने जनाएको हो । सार्वजनिक गरिएको प्रतिवेदनले नेपालले दिगो लगानीलाई जोड दिएर उत्पादकत्व बढाउन सक्ने बताइएको छ । प्रतिवेदनमा नेपालले पर्यटन, कृषि व्यापार, शिक्षा, स्वास्थ्य, तथा सुचना तथा संचार क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढे दिगो लगानी भित्र्याउन सकिने देखाएको हो । प्रतिवेदनका अनुसार नेपालको भौगालिक स्थितिले दिगो लगानीको फाईदा लिन नसकेको देखाएको छ ।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा विश्वसनीय र अनुमानयोग्य कर प्रणाली कार्यान्वयनमा रहेको बताएका छन्। । उनले समष्टिगत अर्थतन्त्रको स्थायित्व र विश्वसनीय कर प्रणालीको माध्यमबाट लगानीका लागि आश्वस्त गर्न सरकारले प्रयास गरिरहेको बताए ।
मन्त्री खतिवडाले नेपालमा उत्पादनको गुणस्तरीयता र बजारीकरण चुनौतिपूर्ण रहेको भन्दै त्यसका लागि काम गर्नुपर्ने बताए । अर्थमन्त्री खतिवडाले सामाजिक क्षेत्र र पूर्वाधारमा लगानी वृद्धिका लागि काम गर्नुपर्ने बताए । उद्मशीलताको विकास र त्यसबाट दीगो आर्थिक तथा सामाजिक क्षेत्रमा सुधारका लागि काम गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष हार्टविग स्काफरले नेपालले उत्पादनबाटै ६ देखि ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने बताए । उनले नेपाल दीगो आर्थिक विकास गर्ने अवस्थामा पुगेको भन्दै त्यसमा केही चुनौति भने रहेको बताए ।
स्काफरले नेपालमा निजी क्षेत्रलाई लगानी र व्यवसायका लागि केही चुनौति रहेको पनि उल्लेख गरे । नेपालमा कानुनी र व्यवहारिक चुनौतिहरु धेरै छन्, त्यसलाई हटाउँदै लगानीका लागि उपयुक्त वातावरण बनाउनुपर्ने देखिन्छ,ु उनले भने ।