काठमाडौं महानगरमा बालेनको जीत सुनिश्चित, भन्छन्– विजयी जुलुस नगरौं, आफू रहेकै ठाउँमा धन |
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को जित निश्चित भएको छ । पछिल्लो मतपरिणामअनुसार साहले ५५ हजार ७ सय ७७ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३५ हजार ३ सय ७१ मत पाएकी छिन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ६ सय ३६ मत ल्याएका छन् । सिंह र स्थापितसँग साहले बनाएको मतान्तर गन्न बाँकी मतभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो ।
आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेजमार्फत एक वक्तव्य जारी गरी आफ्नो समर्थकहरूलाई विजय जुलुस नगर्न र त्यसकै नाममा विभिन्न जिल्लाबाट काठमाडौं नधाउन अपील गरेका हुन् ।
‘जित-हारलाई मतगणना सकिएसँगै सकिदिऊँ । घोषणापत्रमा भएका कुराहरू लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला’ उनले वक्तव्यमा भनेका छन्, ‘अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौं।’
उनले लेखेका छन्, ‘स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौं भनेर महानगरका मतदाताहरूले हामीलाई विश्वास गर्नुभएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जित वा हार हुँदैन ।’
निर्वाचित हुनेले अरु प्रतिस्पर्धीको तुलनामा ज्याद मत ल्याए पनि बहुमत नल्याएको भन्दै उनले आफूलाई मतदान नगर्नेहरुको भावनामा समेत चोट नपर्ने गरी काम गर्ने प्रतिबद्धता गरेका छन् । उनले महानगरको उन्नतिका लागि सबैसँग सहकार्यको आग्रह गरेका छन् ।
‘मेरो स्वयंको पनि बढीमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरू बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनाेट गर्नुभएको छ’ वक्तव्यमा उनले भनेका छन्, ‘हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनुपर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनुपर्छ ।’ ठाउँठाउँबाट विजय र्यालीका नाममा काठमाडौं आउने तयारी भएको सुनिएको भन्दै उनले काठमाडौं आउने ‘दुःख नगर्न’ आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौं ।’ उनले बरु आ-आफ्नो ठाउँबाट धन्यवाद र्याली गर्न आग्रह गरेका छन् । आफ्नो अभियानलाई उनले नेपालभरको अभियान बनाउन आग्रह गरेका छन् ।
साहसंगै स्वतन्त्रबाट ठूला महानगरपालिमा मेयर पदमा विजयी हुनेको संख्या चार पुगेको छ । बालेनसंगै पछिल्लो मत परिणाम अनुसार धरान उपमहानगरपालिकाको प्रमुखमा हर्कराज साम्पाङ, धनगढी उपमहानगरपालिकाको प्रमुखमा गोपाल हमाल र जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा मनोज कुमार साह सुडी विजयी भइसकेका छन् ।
साथै साहले अवको बाटो सहज नभएको समेत जनाएका छन् । उनले भनेका छन्, ‘अबको बाटो सहज छैन । हाम्रो अभियानको वास्तविक परिक्षा अब सुरु हुनेछ । हामीले हिड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ ।’