राष्ट्र बैंकले ३ अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्दै, ११% ब्याज दिने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँ बराबरको ‘नागरिक बचतपत्र २०८२’ जेठ १२ गतेदेखि बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले वार्षिक ११ ब्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो । ब्याजमा कर लाग्ने पनि राष्ट्र बैंकले जनाएको छ । ब्याजको भुक्तानी ६–६ महिनामा हुनेछ । यो नागरिक बचतपत्र ५ वर्ष अवधिको हुनेछ । यसमा घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ ।
बैंकका अनुसार यस बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन् । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ । जेठ १२ गतेदेखि ३१ गतेसम्म बिक्री गरिने यस बचतपत्रको अन्तिम निष्कासन मिति भने आगामी असार ८ गतेका लागि तोकिएको छ । बैंकले २०८४ असार ८ गते साँवा भुक्तानी हुने मिति तय गरेको छ ।
बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुईप्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ । यो बचतपत्रमा सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताको सहयोगमार्फत अनलाइनबाट आवेदन दिन सकिने केन्द्रीय बैंकले जानकारी गराएको छ ।