जनता बैंकको खुद नाफा दोब्बर |
काठमाडौं । जनता बैंकको खुद नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा गत वर्षको यसै अवधिको तुलनामा ९९.४८ प्रतिशतले बढाएको छ । त्रिवेणी विकास बैंकलाई गाभेको यस बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा ३२ करोड १९ लाख रुपैयाँ पुर्याएको हो ।
गत वर्ष यसै अवधिको तुलनामा बैंकको फ्रि प्रोफिट २९४.९५ प्रतिशतले धेरै छ । गत वर्षको प्रथम त्रैमासमा बैंकको फ्रि प्रोफिट ६ करोड ४८ लाख रुपैयाँ मात्र थियो ।
असोज मसान्तमा बैंकको निक्षेप संकलन सुधारात्मक देखिएको छ । चालू आर्थिक वर्षको प्रथम त्रैमासमा ६२ अर्ब ८८ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५८ अर्ब ४५ करोड ६१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
बैंकले गत वर्षको सोही अवधिको तुलनामा २०.३७ प्रतिशतले निक्षेप संकलनमा वृद्धि गरेको हो भने २३.३७ प्रतिशतले धेरै कर्जा लगानी गरेको हो ।
समीक्षा अवधिमा जनता बैंकले ७९ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा खुद ब्याज आम्दानी ५५.८२ प्रतिशतले धेरै हो । गत आवको प्रथम त्रैमासमा बैंकले ५१ करोड दुई लाख खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसाबाट बढाएर १६ रुपैयाँ १० पैसा कायम छ । बैंकको प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ३२ पैसा छ भने मूल्य आम्दानी अनुपात ११.९३ गुणा बढी छ ।
समीक्षा अवधिमा अघिल्लो वर्षको नाफाबाट १४.४० प्रतिशत बोनस बाँडेर चुक्ता पूँजी बढाएको यस बैंकको जगेडा कोषको आकार १७.९६ प्रतिशतले बढोत्तरी भएको छ ।
प्रथम त्रैमासमम्ममा जनता बैंकले जगेडा कोष दुई अर्ब ३४ करोड ५९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको जगेडा कोषमा एक अर्ब ९८ करोड ८७ लाख रुपैयाँ सञ्चित रहेको थियो ।