आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ |
काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् । कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बतायो ।
पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजना गरेका थिए ।
सोही प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको पनि उनले बताएकी छन् ।
बुधबार पीडितले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् ।